राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जनतालाई महेन्द्र राजमार्ग देखाएर मुस्ताङको युरेनियम अमेरिकालाई जिम्मा लगाउन खोजेको आरोप लगाएका छन्।
आज पत्रकार सम्मेलन गरेर नेपाललाई अन्तर्राष्ट्रिय प्रोक्सी वारको केन्द्र बनाउने षड्यन्त्र भइरहेको बताए। उनले भने, ‘मुस्ताङको लोमान्थाङमा रहेको बहुमूल्य युरेनियम खानी, ब्याक सिलिका नामको एउटा गोप्य सम्झौता मार्फत वैदेशिक शक्तिको जिम्मा लगाउने तयारी गरिएको छ। यो सुन्दा नेपाली जनताको छाती पोल्ने कि नपोल्ने? युरेनियम केवल एउटा महँगो धातु मात्र होइन, यो आणविक शक्तिको आधार हो। मुस्ताङ जस्तो संवेदनशील क्षेत्र जो चीनको सिमानासँग जोडिएको छ, त्यहाँ कुनै पनि बाह्य शक्तिलाई उत्खननको अनुमति दिनुको अर्थ नेपाललाई अन्तर्राष्ट्रिय प्रोक्सी वारको केन्द्र बनाउनु हो।’
उनले जनताले चुपचाप घण्टी छाप भन्दै भोट हालेको दुर्दशा अब भोग्ने बताए। एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थाल्ने चेतावनी समेत दिए। उनले भने, ‘यो सरकार आएपछि ऋण थपिएछ। भ्रष्टाचारीलाई कारबाही गर्नुस्, त्यो ठिक छ। अरू यहाँ धेरै मारवाडीहरू छन्, ती मारवाडीहरूलाई कानुनको दायरामा ल्याऊ, त्यसपछि तिमीहरू सफल हुन्छौ।’
उनले बैङ्कको ऋण तिर्नको लागि आफूहरूलाई काम गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरे। उनले भने, ‘हामीलाई बाँच्न देऊ सरकार, हामीलाई काम गरेर बैङ्कको ऋण तिर्न देऊ सरकार। अब मलाई बालेन जीको जस्तो र्याप त आउँदैन। हामीलाई विद्यार्थी पढाएर, काम गर्ने वातावरण बनाइदेऊ। अब चामलको भाउ ५०० पुग्दै छ, तेलको भाउ बढेकोले। आटा किन्न सक्दैन मान्छेले, चामल किन्न सक्दैन, चिनी किन्न सक्दैन, ग्यास किन्न सक्दैन।’



