लामो समयदेखि रोकिएको वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारको काम आइतबार बिहानदेखि सुरु हुने भएको छ ।
डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक २५/२५ मिटर दायाँ–बायाँ विस्तार गरिनेछ । पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालले दिएको जानकारी अनुसार सडकको मध्य भागबाट २५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने काम भोली बिहानदेखि थालिने छ ।
त्यसका लागि हेटौँडाबाट डोजर, जेसीबी र एक्साभेटरसहित ९ वटा उपकरण वीरगञ्ज ल्याइसकेको समेत बताए । सडक विस्तारलाई प्रभावकारी बनाउन एकैसाथ पाँच स्थानबाट काम शुरु गर्ने तयारी थालिएको छ । यसका लागि वीरगञ्ज महानगरपालिका, प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिएको छ ।
सर्वोच्च अदालतले २०८१ फागुन २८ गते उक्त सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै विपक्षीको रिट खारेज गरेपछि परियोजना अघि बढ्ने बाटो खुलेको थियो ।



