सिरहाको गोलबजार नगरपालिका ८ स्थित जनता माध्यमिक विद्यालय चन्द्रालपुरले शिक्षक तथा कर्मचारी भर्नाको विज्ञापन स्थगित गरिएको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा नगरी विज्ञापन प्रकाशित गरिएको भनी चर्को आलोचना हुन थालेपछि शिक्षा शाखाले थप प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख अनन्त पौडेलले शिक्षक भर्ना जस्तो संवेदनशील विषयमा नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइसँग अनिवार्य समन्वय तथा अनुमति लिनुपर्ने व्यवस्था छ ।
तर, विद्यालयले सो प्रावधान उल्लंघन गर्दै एकतर्फी रूपमा विज्ञापन निकालेको पाइएपछि रोक लगाइएको बताए । विद्यालयले गत चैत ३० गते एक साते म्याद राखेर १५ जना शिक्षकसहित कार्यालय सहयोगी र बस चालक गरी १७ जनाका लागि आवेदन आह्वान गरेको थियो । तर, आवश्यक स्वीकृति बिना प्रक्रिया अघि बढाइएकाले तत्काल प्रभावबाट विज्ञापन स्थगित गरिएको हो ।
शाखाले विद्यालयसँग ‘कसको अनुमतिमा विज्ञापन निकालिएको भन्दै लिखित स्पष्टीकरण माग गरेको छ । विद्यालयका प्रधानाध्यापक ब्रह्मदेव सिंहले भने विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार आन्तरिक कार्यविधि पालना गरेर विज्ञापन गरिएको दाबी गरेका छन् । निजी स्रोतबाट करार वा ज्यालादारीमा राखिने शिक्षकका लागि अनिवार्य रूपमा अध्यापन अनुमतिपत्र आवश्यक नपर्ने व्यवस्था रहेको भन्दै उनले प्रचलित शिक्षा नियमावलीले शिक्षण पेशामा संलग्न हुन अध्ययन अनुमतिपत्र अनिवार्य गरेको प्रावधान स्पष्ट रूपमा बताए ।
यसअघि पनि सो विद्यालयले प्रक्रिया मिचेर व्यक्तिगत प्रभावमा शिक्षक तथा कर्मचारी नियुक्त गरेको आरोप लाग्दै आएको थियो । स्थानीयवासीले पुराना व्यक्तिहरूलाई मिलाउनकै लागि नयाँ विज्ञापन निकालिएको हुनसक्ने आशंका गरेका छन् ।



