प्रमुख मनोरञ्जन गन्तव्यको रूपमा विकसित हुँदै गईरहेको जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै नयाँ–नयाँ सुविधाहरू सञ्चालनमा ल्याएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित रिसोर्टले बैशाख ७ गतेदेखि ‘बगैंचा’ नामक नयाँ सेवा अवधारणा सुरु गरेको हो । यसअन्तर्गत मधेशकै ठूलो क्षमतायुक्त रेस्टुरेन्ट, आधुनिक मिटिङ हल, विभिन्न कार्यक्रमका लागि उपयुक्त ब्यांकेट, बालबालिकाका लागि किड्स प्ले जोन तथा खुला वातावरणमा मनोरञ्जन गर्न मिल्ने ओपन लाउन्ज सञ्चालनमा ल्याइएको जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लिका संचालक गुड्डु जैनले बताए ।
रिसोर्टले यसअघि नै ‘वन्डर ल्याण्ड वाटर पार्क’ सञ्चालन गर्दै आएको छ, जसले बालबालिका, युवा तथा पर्यटकलाई लक्षित गर्दै सुरक्षित र मनोरञ्जनात्मक सेवा प्रदान गर्दै आएको जैनले बताए । पछिल्लो समय जनकपुरधाम क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको सन्दर्भमा रिसोर्टले सेवा विस्तारलाई थप प्राथमिकता दिएको उनको भनाई थियो ।
खानपानतर्फ पनि विविधता थपिएको छ । थकाली खाना, भारतीय परिकार, कन्टिनेन्टल व्यञ्जनसँगै मिथिला क्षेत्रको मौलिक स्वाद झल्काउने मिथिला थालीको व्यवस्था गरिएको छ । हरियाली वातावरणमा भोजनको आनन्द लिन सकिने गार्डेन रेस्टुरेन्ट सुविधा पनि थप गरिएको छ ।



