जनकपुरधामसहितको बजारमा केराको मूल्य दर्जनको २ सय ५० रुपैयाँदेखि ३ सय ५० रुपैयाँसम्म पुगेको छ । पर्याप्त केरा नपाइएको र यसैबीचमा मातातीर्थ औंसी परेकाले पनि केरा महँगिएको खुद्रा व्यवसायीले बताएका छन् ।
यस पटक केराको मूल्य फागुनदेखि नै निरन्तररुपमा बढिरहेको छ । मातातीर्थ औंसीका कारण मात्र नभइ आयात हुन नपाएकाले पनि केराको मूल्य वृद्धि भएको हो । २०८२ वैशाख १ गते र वैशाख २०८३ को तुलनामा मात्रै केराको मूल्य दर्जनमा ६०/७० प्रतिशतले वृद्धि भएको छ । थोक बजारमै केराको मूल्य दर्जनमा ५० प्रतिशतले वृद्धि भएको छ ।
केरा प्रतिदर्जन औसत मूल्य माघ २२ गतेदेखि ९ चैतसम्म ५०/८० रुपैयाँ, २०८१ चैत १ देखि २०८२ वैशाख १गतेसम्म १०० रुपैयाँ थियो । तर २०८२ माघ २६ र २७ गतेतर्फ १२० रुपैयासम्मँ पुगिसकेको थियो । थोक बजारमै महँगिनुको कारण भनेको उपभोक्ताको मागअनुसार केरा आपूर्ति नहुनु हो । केरा आयात गर्न प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले नयाँ प्रवेश अनुमतिपत्र जारी गरेको छैन । त्यसकारण बजारमा केराको मागअनुसार आपूर्ति गर्न नसक्दा मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् ।
ट्रोपिकल रेस–४ -टीआर–४) रोगको जोखिमका कारण आयात अनुमतिपत्र जारी नगरिएको प्लान्ट क्वारेन्टिनका सूचना अधिकारी रोशन अधिकारीले जानकारी दिए । औपचारिक रूपमा आयात गर्न नपाइए पनि अनौपचारिक रूपमा आयात हुने केराको हकमा सूचना पाएसम्म कानुनी प्रक्रियाअनुसार नष्ट गरिरहेको उनको भनाइ छ ।
जैविक सुरक्षाका लागि पनि केरा आयातका लागि नयाँ अनुमति पत्र जारी रोकेको अधिकारीको भनाइ छ । भन्सार विभागको तथ्यांकले पनि केरा आयात घटेको देखाउँछ । गत आर्थिक वर्षको ८ महिनामा १ अर्ब १५ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरको २ करोड ८० लाख २८ हजार ३८६ किलो केरा आयात भएको थियो ।
चालु आर्थिक वर्षको ८ महिनामा ७६ करोड ५५ लाख ६ हजार रुपैयाँको १ करोड ९४ लाख ३९ हजार २ सय ४१ किलो मात्रै केरा आयात भएको छ । केरा आयात नहुँदा उपभोक्ताको माग पूरा हुन नसकेको र त्यसको प्रभाव मूल्यवृद्धिमा देखिएको छ । तर क्वारेन्टिनले ‘टीआर–४’ रोग भित्रिने डर देखाएर भारतीय केराको आयात रोकेको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ । पहिले ६० रुपैयाँ प्रतिदर्जन पाइने केरा अहिले ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म पुगेको छ । नेपाली खानयोग्य भइनसकेका केरा उपभोक्ताले महँगो मूल्यमा किन्नु परेको छ । नेपाली उत्पादनले ३–४ महिना (भदौ–मंसिर) मात्र बजार धान्न सक्ने उनको बुझाइ छ ।
बाँकी समयमा बजारको मागअनुसार आयात खोल्नुपर्ने उनको तर्क छ । व्यवसायीले भदौदेखि मंसिरसम्म मात्र आन्तरिक उत्पादनले माग धान्ने बताए पनि केरा उत्पादक भने वैशाख, जेठ र असारमा मात्रै समस्या हुने र अन्य समयमा आन्तरिक उत्पादन नै पर्याप्त रहने दाबी गर्छन् । वैशाख, जेठ र असार नेपाली केराको ‘अपुग’ समय रहेको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताए ।
आफैंले ८० रुपैयाँ दर्जनमा बेचेको केरा चितवनकै टाँडीमा १८० रुपैयाँमा किन्नुपर्ने अवस्था रहेको र ठूलो अन्तरलाई सरकारले बजार अनुगमनमार्फत नियन्त्रण गर्नुपर्ने पन्तको भनाइ छ । कुल मागको ३० प्रतिशत केरा आयात नै गर्नुपर्ने अवस्था रहेको पन्तले नै स्विकारे । तर तथ्यांकले १२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने देखाउँछ ।
खुला सीमाका कारण अझै पनि अवैध तरिकाबाट केरा भित्रने गरेको छ । केरामा आत्मनिर्भर हुनुपर्छ भनेर किसानले १२ महिना पु¥याउने गरी केरा लगाइसकेको र अर्को वर्षदेखि त्यस्तो समस्या नहुने पन्तले बताए । उपभोक्तालाई महँगी भएको बहाना बनाएर व्यवसायीले केरा आयात खुलाउन खोजेको समेत उनको आरोप छ ।
१२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम व्यवस्थापन एकाइका वरिष्ठ योजना अधिकृत इन्द्र शर्मा ढुंगानाले बताए । गत आर्थिक वर्ष ३ लाख ८२ हजार टन केरा आन्तरिक उत्पादन र ५६ हजार टन गरी मुलुकमा ४ लाख ४० हजार टन केरा खपत भएको छ । यसरी हेर्दा १२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने अवस्था छ ।
तर केरा उत्पादकहरू नै मुलुकमा ७० प्रतिशत आन्तरिक उत्पादन र ३० प्रतिशत आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । अहिले उत्पादन र खपत बढी हुँदा समस्या देखिएको ढुंगानाको भनाइ छ । अबको २० देखि २५ दिनमा चितवनका मालभोग केरा बजारमा आउने भएकाले समस्या कम हुने उनले जनाए । बजारमा केराको अभाव र चर्को मूल्यवृद्धि देखिए पनि किसानले मूल्य नबढाएको उनले बताए । अहिले किसानले ६० देखि ८० रुपैयाँमा बिक्री गरिरहेको उनले बताए ।



