राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरुसंग अव कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको छ ।
सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पार्टीभित्र रहेर पार्टीलाई नै खरानी पार्न खोज्नेहरुसंग अव कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको हो । उहाले आफ्नो जिल्लामा वडा समिति बनाउन नसक्ने, चूनावमा पार्टीका उम्मेद्वारलाई नसघाउने र राष्ट्रिय पार्टी बन्नबाट रोक्न खोज्ने पार्टीभित्रका नेताहरुको कुनै कुरा नसुनिने समेत बताउनुभयो । महाधिवेशन सारेर कार्यकाल लम्बाउने पक्षमा आफु नरहेको भन्दै अध्यक्ष लिङ्देनले वैधानिक र व्यवस्थित तवरले उचित समयमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार रहेको धारणा राख्नुभयो । पार्टीभित्रको अबको समस्याको समाधान महाधिवेशन मात्रै भएको उहाको भनाइ छ ।
त्यस्तै अध्यक्ष लिङ्देनले अहिले संसदमा प्रतिपक्ष कमजोर भएको अवस्थामा सरकारको गलत कार्यको सडक र सदनबाट प्रतिवाद गर्ने धारणा राख्नुभयो । उहाले चूनावमा भोट लिनका लागि गरेको प्रचारजस्तो नभइ व्यहारमा नजिता आउने गरि रास्वपा नेतृत्वको सरकारले काम गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाले गृहमन्त्रीकाबारेमा बाहिर आएका चर्चाका बिषयमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताउनुभयो । रास्वपा सभापति र गृहमन्त्री स्वयंले पनि यस बिषयमा आफ्नो पोजिसन स्पष्ट गर्नुपर्ने उहाको भनाइ छ ।
अध्यक्ष लिङ्देनले यसअघि देखिएका बेतिथिहरुलाई सच्चाउने कामको सुरु वर्तमान सरकारले गरेको भन्दै सकारात्मक कामको स्वागत गर्ने बताउनुभयो । उहाले देशको अभिभावकीय संस्थाका रुपमा राजा र हिन्दुराष्ट्र लगाएत आफुहरुको एजेण्डालाई आगामी दिनमा सशक्त ढंगले अघि बढाउने पनि बताउनुभयो ।



