२०८३ बैशाख ७, सोमबार १६:२५

आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा अबको तीन दिनसम्म तातो दिन रहने सम्भावना छ ।

पछिल्ला केही दिनयता तापक्रम बढ्दै गएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मी महसुस हुने महाशाखाको अनुमान छ । देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि धेरै ठाउँमा गर्मी बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले पर्याप्त पानी पिउन, हल्का र उज्यालो रङका कपडा लगाउन, घाममा निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा बालबालिका, सुत्केरी, वृद्ध र बिरामीहरूको विशेष हेरचाह गर्न सुझाव दिएको छ । लामो समय घाममा काम गर्नुपरेमा बीच–बीचमा आराम गर्न पनि आग्रह गरिएको छ ।

Comment


Related News

Latest News

Trending News