नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायनिक विषादीले किसानको स्वास्थ्यसंगै उपभोक्ताको भान्सासम्म गम्भीर संकट निम्त्याइरहेको एक अध्ययनले देखाएको छ ।
विभिन्न जिल्लामा व्यावसायिक धान उत्पादन गर्ने किसानमा गरिएको सर्वेक्षण र बजारबाट संकलन गरिएका चामलका नमूनाहरूको प्रयोगशाला परीक्षणले नेपालको कृषि क्षेत्रमा विषादी व्यवस्थापनको भयावह अवस्था सार्वजनिक गरेको छ । नेपालमा धान खेतीमा प्रयोग हुने विषादी र त्यसले मानव स्वास्थ्यमा पार्न सक्ने जोखिमबारे गरिएको वैज्ञानिक अध्ययनले डरलाग्दो तथ्य बाहिरिएको छ ।
यस अध्ययनले नेपालको कृषि र जनस्वास्थ्यमा ‘विषादीको बम’ विष्फोट हुने अवस्थामा रहेको संकेत गरेको छ । भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ को सहकार्यमा ‘प्रोग्रेसिभ सस्टनेवल डिभलपर्स नेपाल’ ले नेपालमा धानमा विषादीको प्रयोग र किसानको सुरक्षा विषयमा गरेको अध्ययन प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको छ । नेपालको तरकारी र सागमा खानै नसकिने गरी अनियन्त्रित रुपमा विषादीको प्रयोग भइरहेको अवस्थामा पछिल्लो समयमा भान्छामा दैनिक रुपमा पाक्ने चामलमा समेत प्रतिवन्धित विषादीको मात्रा अत्यधिक परिमाणमा पाउन थालिएको प्रतिवेदन सार्वजनिक भएको छ ।
अध्ययनको सबैभन्दा डरलाग्दो पक्ष भनेको नेपाल सरकारले प्रतिबन्ध लगाएको ‘क्लोर्पाइरिफोस’ नामक विषादीको प्रयोग अझै पनि भइरहनु हो । यो विषादी मानव स्वास्थ्यका लागि अत्यन्तै घातक मानिन्छ । सन् २०२५ जुन ६ मा प्रकाशित ‘थ्योरी अफ प्लान्ड बिहेभियर’ (टीपीबी) मा आधारित उक्त अध्ययनले नेपाली बजारमा पाइने ८३ प्रतिशत चामलका नमूनामा विषादीको अवशेष अत्यधिक मात्रामा पाइएको देखाएको छ ।
यस अध्ययनले कृषि क्षेत्रमा विषादीको अनियन्त्रित प्रयोगलाई कडाईका साथ नियमन गर्न ढिला भइसकेको संकेतसमेत गरेको छ । काठमाण्डुको चामलमा सबैभन्दा बढी विषादी, बासमती चामलमा अत्यधिक अनुसन्धानका क्रममा काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन जिल्लाबाट चामलका नमुनाहरू संकलन गरिएको थियो ।
अध्ययन अनुसार ८३ प्रतिशत नमुनाहरू विषादीबाट प्रदूषित पाइएका छन् भने ८० प्रतिशत नमुनामा दुई वा बढी प्रकारका विषादीका अवशेषहरू भेटिएका छन् । अध्ययनका अनुसार चामलमा मुख्य रूपमा ट्राइसाइक्लाजोल, थायामेथोक्साम र टेबुकोनाजोलजस्ता विषादीहरू बढी मात्रामा पाइएका छन् ।
प्रतिवेदन अनुसार चामलमा विभिन्न ११ प्रकारको विषादीको अवशेषसमेत फेला परेको छ । अध्ययनको क्रममा चामलको नमूनामा किटनाशक, ढुसीनाशक, मुसा मार्नेलगायतका औषधिका साथै प्रतिवन्धित विषादीको परिमाणसमेत फेला परेको प्रतिवेदनले उल्लेख गरेको छ । ‘आलुमिनम फस्फाइड’ र ‘क्लोरपाय्रिफोस’ जस्ता घातक विषादीहरू किसान र व्यापारीहरूले सामान्य रूपमा प्रयोग गरिरहेको पाइएको छ ।
संकलन गरिएको चामलको नमूना अत्याधुनिक प्रयोगशालामा परीक्षण गरिएको थियो । जसले चामलमा उपस्थित रहेका ५१ प्रकारको विषादीको सूक्ष्म विश्लेषण गरिएको थियो । यस तथ्यांकले हामीले दैनिक रुपमा शरीरलाई पोषण दिने भनेर खाने चामल कति असुरक्षित छ भन्ने देखाउँछ । विशेष गरी बासमती चामलमा गैर– बासमतीको तुलनामा विषादीको मात्रा अझ बढी पाइएको रिपोर्टमा उल्लेख छ ।
विषादीको मारमा किसान अध्ययनले किसानहरूले विषादी प्रयोग गर्दा अपनाउने सुरक्षा सतर्कता खासै अपनाएको देखिएन । अध्ययनको क्रममा किसानहरुले विषादी छर्कने क्रममा अपनाउनुपर्ने सुरक्षाका साधनहरु मास्क, पञ्जा, बुटलगायतको प्रयोग नगरेको पाइएको छ । कतिपय किसानले विषादी प्रयोग गरेपछि त्यसको बट्टा खेतबारीमै र पानीको स्रोत नजिकै फाल्ने गरेको पनि अध्ययनको क्रममा फेला परेको छ ।
आँखा पोल्ने, बान्ता हुने, झाडापखाला लाग्ने, दृष्टिमा धमिलोपनजस्ता समस्याहरु पनि देखापरेका छन् । अधिकांश किसान विषादी विक्रेताको सल्लाहको भरमा खेतिपाती गर्दै आएको पनि प्रतिवेदनले उल्लेख गरेको छ । यस्तै छिमेकी किसानले प्रयोग गरेको र बिक्रेताको दबाब र निर्देशनअनुसार विषादी प्रयोग गर्ने गरेको पनि उल्लेख गरिएको छ ।स्वास्थ्य जोखिम न्यून तर सतर्कता आवश्यक अध्ययनले अनियन्त्रित, आफुखुशी, प्रतिबन्धित र सीमाभन्दा बढी परिमाणमा प्रयोग भइरहेको विषादीहरुका कारण मानव शरीरमा हर्मोन, स्नायु र प्रजनन प्रणालीमा असर पु¥याउने उल्लेख गरेको छ ।
अत्यधिक विषादीयुक्त खाद्यान्न, तरकारी, साग वा फलफूलको नियमित रुपमा सेवन गर्दा वा त्यस्ता विषादीको नियमित असुरक्षित रुपमा सम्पर्कमा आउँदा आम उपभोक्ताको शरीरमा दीर्घकालीन रुपमा क्यान्सर, मृगौला फेल, हर्ट अट् याक -हृदयघात), रोगविरूद्धको प्रतिरोधी क्षमता घटाएर कलेजो बिग्रने, ब्रेन ट्युमर हुने, गर्भ तुहिने जस्ता समस्या आउन सक्ने चेतावनी समेत दिइएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी विश्वभर ४० लाखभन्दा बढी व्यक्ति यस्ता विषादीका कारण प्रभावित हुँदै आएका छन् । त्यसमध्ये करिब ३ लाख जनाको विषादीका कारण मृत्यु हुने गरेको छ । तरकारी र सागमा हुन्छ ८५ प्रतिशतसम्म बिषादीको प्रयोग सरकारको तथ्याँकअनुसार नेपालमा वार्षिक साढे ६ सयदेखि १२ सय मेट्रिक टनको हाराहारीमा खास बिष अर्थात बिषादीको आयात हुने गरेको छ ।
त्यसरी भित्रिने विषादीहरू करिब १७० प्रकारका हुन्छन् । तीमध्ये दुई तिहाइभन्दा बढी अर्थात झण्डै ८५ प्रतिशतसम्म त हरियो तरकारीमा उत्पादन गर्ने क्रममा किसानहरुले प्रयोग गर्दै आउने खालका छन् । बाँकी करिब १५ प्रतिशत विभिन्न प्रकारका खाद्यान्न बालीमा प्रयोग हुन्छ ।



