२०८३ बैशाख ८, मंगलवार ०७:३०

मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले भारतबाट सामान आयातमा सन्तुलित नीति अपनाउन संघीय सरकारसँग आग्रह गरेको छ ।

हाल लागु गरिएको भन्सार सम्बन्धी व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकको दैनिक जीवनमा असहजता बढ्दै गएको भन्दै अर्थमन्त्री यादवले एकसय रुपैयाभन्दा बढीको सामान खरीद भन्सार तिर्नुपर्ने व्यवस्थाले दुबै देशबिच सदियौँदेखि स्थापित बेटीरोटीको सम्बन्धमा समेत असर परेको भनी संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।

अर्थमन्त्री यादवले सोमबार जारी गरेको ध्यानाकर्षण वक्तव्यमा सीमा क्षेत्रमा लागु भएका नीतिका कारण सामान्य आवतजावत तथा दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समस्या देखिएको बताएका छन् । उनका अनुसार यो व्यवस्थाले स्थानीय नागरिकको जीवनयापन कठिन बन्नुका साथै नेपाल भारतबिचको ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्बन्धमा असहजता सिर्जना गरिरहेको छ ।

उनले यस विषयमा वस्तुस्थितिको यथार्थ अध्ययन गरी नागरिकमैत्री, व्यवहारिक र सन्तुलित नीति अवलम्बन गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन् । सीमा क्षेत्रका जनताको संवेदनशीलतालाई मध्यनजर गर्दै नीतिगत निर्णय हुनुपर्ने उनको भनाइ छ । त्यसैगरी, मधेश प्रदेशका विभिन्न स्थानमा सडक तथा सडक पेटी व्यवस्थापनका क्रममा साना तथा निम्न आय भएका व्यवसायी प्रभावित भइरहेको विषयमा पनि उनले चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय प्रदेश सरकारद्वारा अव्यवस्थित बजार तथा फुटपाथ व्यवस्थापनका नाममा वैकल्पिक व्यवस्था नगरी चालिएका कदमले साना व्यवसायीको रोजगारीमा प्रत्यक्ष असर परेको उनको भनाई छ । अर्थमन्त्री यादवका अनुसार स्पष्ट विकल्प बिना गरिने यस्ता कार्यले साना उद्यमीको आर्थिक अवस्था थप जटिल बनाउने जोखिम रहेको छ ।

सडक व्यवस्थापन आवश्यक भए पनि प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि ठोस योजना अनिवार्य हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दुवै विषयमा आवश्यक समन्वय, संवाद र दीर्घकालीन समाधानको खोजी गर्न आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News