गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्धको कारबाही कुनै पनि हालतमा नरोकिने र नडगमगाउने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा धारणा राख्दै गृहमन्त्री गुरुङले राष्ट्रको सम्पत्तिमा आँखा लगाउनेहरू अहिले डराएर विभिन्न हल्ला र मिडिया ट्रायलमा लागेको आरोप लगाएका छन् ।
गृहमन्त्रीले पछिल्लो समय भ्रष्टाचारविरुद्ध सरकारले अघि बढाएको अभियानलाई लिएर फैलाइएका हल्ला र मिडिया ट्रायलप्रति कडा प्रतिक्रिया जनाएका छन् । उनले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिनाले जम्मा भएको रकममा आँखा गाड्नेहरू अहिले त्रसित भएको बताएका हुन् ।
गृहमन्त्रीका अनुसार यस्ता समूहहरू कारबाहीबाट बच्न विभिन्न प्रायोजित हल्ला फैलाउने र मिडियामार्फत् भ्रम सिर्जना गर्ने प्रयासमा लागेका छन्। ‘मिडिया ट्रायल र प्रायोजित हल्ला त उनीहरूको छटपटी मात्र हो’, उनले लेखेका छन्, ‘तर सरकारको कारबाही न रोकिन्छ, न त डगमगाउँछ ।’
उनले दिनहुँ ठूलो मात्रामा भ्रष्टाचार गर्नेहरूमाथि कडा निगरानी र अनुसन्धान भइरहेको पनि उल्लेख गरेका छन् । ‘दिनको ५० करोडसम्म भ्रष्टाचार गर्नेहरूको विरुद्धमा पनि हामी दृढताका साथ अघि बढिरहेका छौँ’, गृहमन्त्रीले दाबी गरेका छन् ।
सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर कानुनी दायराभित्र रहेर कडा कदम चालिरहेको उनको भनाइ छ । उनले निष्पक्ष अनुसन्धान र प्रमाणका आधारमा दोषीमाथि कारबाही हुने दोहोर्याउँदै कुनै पनि दबाब वा प्रभावमा नपरी काम गरिने स्पष्ट पारेका छन् ।



