नेपाल– भारत सीमानाका हुँदै भारतबाट चिनीलगायतका सामग्री ल्याउँदा एक सय रुपैयाँदेखि नै भन्सार बुझाउने नीति सरकारले ल्याएपछि अहिले सीमावर्ती क्षेत्रका वासीको अवस्था निकै सास्ती भोग्न बाध्य छन् । तर नेपाल चिनी उद्योग संघले खुला सिमानाबाट भइरहेको अनधिकृत र अनियन्त्रित चिनी पैठारीलाई रोक्न सरकारले चालेको कदमको स्वागत गरेको छ ।
नेपाल–भारतबीचको खुला सिमानाका कारण कर नतिरी भित्रिने चिनीले स्वदेशी उत्पादनको बिक्री वितरणमा गम्भीर असर पारेको संघले जनाएको छ । अनधिकृत आयातका कारण आन्तरिक बजारमा स्वदेशी चिनी नबिक्दा कृषकलाई भुक्तानी दिन समस्या परेको र उद्योगहरू बैंकको ऋण सीमा नाघेर रुग्ण अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ ।
सिमानामा कडाइ भएसंगै अब स्वदेशी उत्पादन समयमै बिक्री हुने र त्यसबाट कृषकको भुक्तानी तथा बैंकको साँवा– ब्याज तिर्न सहज हुने विश्वास व्यवसायीहरूले लिएका छन् । हाल स्वदेशमा १३ वटा चिनी उद्योग सञ्चालनमा रहेका छन् । यी उद्योगहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ६० हजार कृषक परिवार आबद्ध छन् ।



