गत तीन दिनदेखि आमरण अनसनमा बसेका सामाजिक अभियन्ता तथा पत्रकार धर्मेन्द्र कुमार कर्णले अन्ततः आफ्नो अनसन स्थगित गरेका छन् । मंगलबार साँझ जनक चोकमा पुगेर मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनले अनसन स्थगित गरेका छन ।
मन्त्री तिवारीले उनलाई जुस खुवाउँदै अनसन तोडाएका हुन । कर्णले आइतबारदेखि विभिन्न पाँच बुँदे माग अघि सार्दै अनसन सुरु गरेका थिए । समयसँगै उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि राष्ट्रिय मानव अधिकार आयोग को पहलमा सरकार र आन्दोलनकारीबीच संवादको वातावरण बनेको थियो ।
सोही क्रममा मन्त्री तिवारी अनसनस्थलमै पुगेर मागहरूबारे चरणबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि कर्णले आन्दोलन रोकेका हुन् । मन्त्री तिवारीले कर्णका उठाएका विषयहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको बताइन् । उनले प्रदेश सरकारबाट सम्बोधन गर्न सकिने विषयहरू तत्काल प्रक्रिया अघि बढाइने र संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने मागहरूका लागि समेत आवश्यक पहल गरिने जानकारी दिइन् । साथै उनले कर्णको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै जीवन र स्वास्थ्यभन्दा माथि कुनै पनि आन्दोलन नहुने धारणा राखिन् ।
अनसन स्थगित गरेपछि कर्णले आफ्नो अभियान व्यक्तिगत स्वार्थका लागि नभई प्रणाली सुधारको उद्देश्यले सुरु गरिएको स्पष्ट पारे । उनले सरकारबाट पहिलोपटक औपचारिक रूपमा आश्वासन प्राप्त भएको भन्दै यसलाई सकारात्मक संकेतका रूपमा लिएको प्रतिक्रिया दिए । उनले अघि सारेका मागहरूमा शिक्षा क्षेत्रको सुधार, माध्यमिक तहको गुणस्तर अभिवृद्धि, आर्थिक लागत घटाउने उपाय तथा निजी क्षेत्रलाई सहज वातावरण निर्माण गर्ने विषय समावेश थिए ।
यसबाहेक, नेपाल वान टेलिभिजनसँग सम्बन्धित नीतिगत विषयहरूको छानबिन, गुनासो व्यवस्थापन प्रणाली सुधार र धार्मिक स्थलसँग सम्बन्धित जग्गा दर्ता समस्याको समाधान पनि उनका प्राथमिक एजेन्डामा रहेका थिए । अनसन सुरु भएको पहिलो दिन नै सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिएका थिए । तर कानुनी आधार स्पष्ट नदेखिएपछि सोही रात रिहा गरिएको थियो, त्यसपछि उनले पुनः अनसन जारी राखेका थिए । पत्रकार कर्ण लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा काम गरिसकेका छन् र नेपाल पत्रकार महासंघ का पूर्व सचिवसमेत भइसकेका छन् ।



