खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैया, बाराका निमित्त कार्यालय प्रमुखसमेत रहेका इञ्जिनियर किशोरी प्रसाद यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सार्वजनिक सेवामा रहँदा पदीय दुरुपयोग गरी अस्वाभाविक सम्पत्ति जोडेको पुष्टि भएपछि आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ । यादवको सेवा प्रवेश अवधि २०४७ असार ३१ देखि २०८० पुस २९ सम्मलाई जाँच अवधि कायम गरी आयोगले अनुसन्धान थालेको थियो ।
यस अवधिमा यादवको पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, कृषि आय, तथा श्रीमती र छोराको आय समेत गरी कुल वैध आय ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ ९ पैसा देखिएको छ । तर सोही अवधिमा यादव परिवारको घर निर्माण, जग्गा तथा सेयर खरिद, सवारी साधन र अध्ययन लगायतका शीर्षकमा भएको खर्च एवं लगानी ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ ९९ पैसा पुगेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । वैध आयको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बढी खर्च भएको र त्यसको स्रोत नखुलेकाले उक्त रकमलाई गैरकानुनी आर्जन मानिएको छ ।
अख्तियारले अवैध रूपमा आर्जन गरिएको सम्पत्ति लुकाउन सहयोग गरेको भन्दै यादवकी श्रीमती निर्मला कुमारीलाई पनि प्रतिवादी बनाइएको छ । यादवसंग आयोगले १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बिगो कायम गरी सोही बराबरको जरिवाना, कैद सजाय र अवैध सम्पत्ति जफतको मागदाबी गरेको छ । यादवले झुट्टा सम्पत्ति विवरण पेश गरेको कसुरमा उनीमाथि थप सजायको माग समेत आयोगले गरेको छ ।



