रौतहटमा अटो रिक्साको सिटमुनि लुकाएर ल्याउँदै गरिएको नशालु इन्जेक्सनसहित एक जना चालक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, हे।क्वा। गौर र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले शुक्रबार दिउँसो करिब १२ बजे गौर भन्सार बेरियरबाट लागूऔषध सहित अटो र चालकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका–७ मुडलवा निवासी २० वर्षीय मोहन पण्डित रहेका छन्। सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको अटोमा शंका लागेपछि चेकजाँच गर्दा चालकको सिटमुनि लुकाइएको अवस्थामा नशालु इन्जेक्सन बरामद गरिएको हो।
प्रहरीले डाईजिपाम, प्रोमथाजिन हाइड्रोक्लोराइड र बुप्रेनोर्फिनका १००र१०० एम्पुल गरी कुल ३०० एम्पुल इन्जेक्सन बरामद गरेको जनाएको छ।
त्यसैगरी चालकको साथबाट ५ ग्राम गाँजा, नेपाली रुपैयाँ ४९०, भारतीय रुपैयाँ १०० र एक थान एन्ड्रोइड मोबाइलसमेत फेला परेको छ।
बरामद लागूऔषध, अटो रिक्सा र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।



