नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।
सहमति खोज्नका लागि भन्दै कांग्रेस कार्यसम्पादन समितिले कार्यदल गठन गरेपछि तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो ।
कार्य सम्पादन समितिको बैठकले निर्देशन गरेअनुसार उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेका साथै निर्वाचन समितिको समेत संयोजन रहने गरि शनिबार साँझ सम्म सर्वसम्मत रुपमा दलका नेता चयन गर्न समिति गठन गरिएको उहाले बताउनुभयो । सहमतिका लागि पार्टीसभापतिले अन्य नेताहरुसंग समेत छलफल गर्ने उहाको भनाइ छ । उहाले सकेसम्म सहमति नै दलको नेता चयन गर्ने र नभए पुनः प्रक्रिया सुरु हुने समेत उल्लेख गर्नुभयो ।
रसाइलीले संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरू समेत राखेर संसद समन्वय बोर्ड गठन गर्ने, संसदीय मामिला अध्ययन तथा अनुसन्धान इकाई निर्धारण गर्ने लगाएतका व्यवस्थासहित दलको नयाँ विधान पारित भएको जानकारी दिनुभयो ।


