२०८३ बैशाख ११, शुक्रबार १७:५७

प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी बस्तीलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिकको विचल्ली हुने गरेको बताएका छन् । उनले हरेक वर्ष ज्यान जोगाउन संघर्ष गर्नुपर्ने अवस्था आउने गरेको पनि स्मरण गरेका छन् ।

उनले यो समस्या वर्षौँदेखि दोहोरिँदै आएको बताए। शाहले अब यसलाई थाती नराखी दीर्घकालीन समाधान आवश्यक रहेको जोड दिएका छन्।

प्रधानमन्त्री शाहले खोला किनारका बस्तीका कारण डुबानको जोखिम मात्रै नभई ढल निकास प्रणालीमा समेत अवरोध पुगेको बताएका छन् । जसले उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको उनको तर्क छ।

उनले थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने स्पष्ट पारे।

प्रधानमन्त्री शाहले आफूले निर्वाचनदेखि नै उठाउँदै आएको प्रतिबद्धता र सरकारका प्राथमिक योजनाअन्तर्गत सुकुम्बासी व्यवस्थापनलाई अघि बढाइने उल्लेख गर्दै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर दीर्घकालीन समाधान गर्ने बताए।

उनले देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने तयारी भइरहेको पनि जानकारी दिएका छन्।

Comment


Related News

Latest News

Trending News