प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस तथा जयन्ती शनिबार सीताप्रति श्रद्धाका साथ भक्तिपूर्वक पूजा अर्चना गरी मनाइँदैछ । यस दिनलाई जानकी नवमी पनि भनिन्छ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा जनकपुरस्थित एक खेतमा सीताको उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीको रूपमा देशव्यापी रुपमा जानकी मन्दिरसंगै रामजानकी मन्दिरमा विशेष पूजाअर्चना गरी पर्व मनाइन्छ ।
जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चनासहित भव्य रुपमा मनाइँदै आएको छ । यस दिनमा श्रद्धालु भक्तजनहरुको जानकी मन्दिरमा घुइँचो नै लाग्ने गर्छ । सांस्कृतिक, धार्मिक तथा प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ ।
सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार श्रीरामसंग सीताको विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनबास जाँदासंगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख गरिएको छ । र ा व ण् ा स िह त राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भन्दै सीताले महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रूपमा सम्झना गरिन्छ ।
अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव र कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षादीक्षाले निपुण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको शास्त्रमा उल्लेख रहेको छ । अयोध्यामा आएका लव र कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको माग अनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।
दरबार आएकी सीताको भव्यतापूर्वक अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप भएको वर्णन वैदिक ग्रन्थमा उल्लेख गरिएको छ ।


