२०८३ बैशाख १२, शनिबार ०७:३४

कुनै राष्ट्रको वास्तविक पहिचान केवल उसको भूगोलले निर्धारण गर्दैन। राष्ट्रको आत्मा उसको इतिहासमा बस्छ, संस्कृति उसको चालचलनमा देखिन्छ, परम्परा उसको जनजीवनमा झल्किन्छ र सामूहिक चेतना उसको भविष्यको दिशामा प्रकट हुन्छ। नेपाल जस्तो प्राचीन सभ्यता, आध्यात्मिक चेतना, सांस्कृतिक विविधता र धार्मिक गौरव बोकेको राष्ट्रका लागि यो सत्य अझ गहिरो छ।

तर दुःखको कुरा के छ भने, यही नेपालले आफ्नै भूमिमा प्रकट भएकी आदर्श नारी, मर्यादा, त्याग, धैर्य र समर्पणकी प्रतिमूर्ति माता जानकीलाई राष्ट्रिय सम्मानका साथ स्मरण गर्न अझै पूर्ण रूपमा सकेको छैन। मिथिलाको पावन भूमिबाट प्रकट भएकी माता जानकी केवल धार्मिक पात्र होइनन् , हाम्रो सभ्यताको आधारशिला हुन ।

नारी शक्तिको उज्यालो प्रतीक हुन। सहनशीलता, संयम, पवित्रता र आत्मबलको सर्वोच्च उदाहरण हुन। त्यसैले जानकी जयन्ती केवल धार्मिक पर्व होइन, यो नेपालको सांस्कृतिक गौरव, ऐतिहासिक चेतना र राष्ट्रिय आत्मसम्मानसँग जोडिएको दिन हो। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने जानकी नवमीलाई सीता नवमी, जानकी जयन्ती वा श्रीजानकी प्राकट्योत्सवका रूपमा श्रद्धापूर्वक मनाइन्छ।

धार्मिक मान्यता अनुसार यही पवित्र तिथिमा मिथिलाको धर्तीबाट महामाया महालक्ष्मी जगतजननी माता सीताको रूपमा प्रकट हुनुभएको थियो। त्यसैले यो दिन विश्वभरिका सनातन हिन्दू धर्मावलम्बीहरूका लागि गहिरो आस्था, श्रद्धा र उत्सवको अवसर हो। यस दिन भक्तजनहरूले व्रत बस्ने, ‘जय सियाराम’ मन्त्र जप गर्ने, विशेष पूजा गर्ने, रामायण पाठ गर्ने, भजन–कीर्तन गर्ने, मठमन्दिरमा दर्शन गर्ने तथा परिवारसहित धार्मिक अनुष्ठानमा सहभागी हुने परम्परा रहिआएको छ।

जनविश्वास छ—यस दिन श्रद्धापूर्वक व्रत बसेर विधिपूर्वक सीतारामको पूजा गर्नेले पुण्य प्राप्त गर्छ, पारिवारिक सुखशान्ति पाउँछ, वैवाहिक जीवनमा समृद्धि आउँछ, सन्तान सुख प्राप्त हुन्छ र मनोकामना पूरा हुन्छ। विशेष गरी महिलाहरूका लागि जानकी माताको जीवन प्रेरणाको स्रोत मानिन्छ। शील, स्वभाव, मातृत्व, त्याग, धैर्य र समर्पणका गुणहरू जानकीको चरित्रमा समेटिएका छन्।

कन्याहरू योग्य वर प्राप्तिको कामना गर्छन् भने विवाहित महिलाहरू वैवाहिक सुख, परिवारको मंगल र सन्तानको कल्याणका लागि पूजा गर्छन्। यसरी जानकी नवमी धार्मिक पर्व मात्र नभई सामाजिक, नैतिक र पारिवारिक संस्कारसँग पनि गहिरो रूपमा जोडिएको छ। भगवान श्रीरामको जन्मोत्सव चैत्र शुक्ल नवमीमा रामनवमीका रूपमा मनाइन्छ भने त्यसको ठीक एक महिनापछि वैशाख शुक्ल नवमीमा माता जानकीको प्राकट् योत्सव मनाइन्छ।

यसले राम र जानकीको सम्बन्ध केवल दाम्पत्यको सम्बन्ध नभई धर्म, मर्यादा, कर्तव्य र आदर्श जीवनको समन्वय भएको सन्देश दिन्छ। कुनै समय जनकपुरधाममा जानकी जयन्तीको महिमा अत्यन्त भव्य थियो। मिथिलाको राजधानी जनकपुरधामका प्रत्येक घर, प्रत्येक गल्ली, प्रत्येक मठमन्दिर, र प्रत्येक सरोवरमा उत्सवको लहर चल्थ्यो। मठमन्दिरहरू रंगरोगन गरिन्थे। फूलमाला, ध्वजा, पताका, बिजुली बत्तीले सजाइन्थ्यो।

घरघर लिपपोत गरिन्थ्यो। आँगनहरू स्वच्छ र पवित्र बनाइन्थे। प्रवेशद्वारमा कलश सजाइन्थ्यो। साँझपख दीप प्रज्वलन गरिन्थ्यो। मठमन्दिरहरूबाट बाजागाजा, घण्टी, शंखध्वनि, झाँकी र रथयात्रासहित श्रीरामजानकीको नगर परिक्रमा गराइन्थ्यो। ‘जय सियाराम, जय जय सियाराम’ को उद्घोषले सम्पूर्ण जनकपुरधाम गुञ्जायमान हुन्थ्यो।

महिलाहरू बधाई गीत गाउँथे। बालबालिकाहरू उल्लासमा रमाउँथे। साधु–सन्त, गृहस्थ, व्यापारी, किसान, श्रद्धालु सबैको मुहारमा हर्षको झल्को देखिन्थ्यो। माता जानकीको नामले सुशोभित जनकपुरधाम केवल एउटा शहर होइन। यो नेपालको आध्यात्मिक राजधानी हो। यो मिथिला सभ्यताको केन्द्र हो। यो विश्वभरिका करोडौँ श्रद्धालुहरूको आस्थाको धरोहर हो।

यहाँको माटोमा इतिहास बोल्छ, यहाँका सरोवरहरूमा रामायणको प्रतिध्वनि सुनिन्छ, यहाँका गल्लीहरूमा परम्पराको स्मृति दौडिन्छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले जनकपुरधामको महत्त्व अत्यन्त विशाल छ। यहाँका मठमन्दिर, कुण्ड, सरोवर, आश्रम, कुटी, पुराना मूर्तिहरू, धार्मिक परम्परा र लोकसंस्कृतिले नेपाललाई विश्वसँग जोड्ने काम गरेका छन्।

भारतलगायत विश्वका विभिन्न देशबाट श्रद्धालुहरू यहाँ आउने गर्छन्। जनकपुरधाम नेपालका लागि एक अद्वितीय ‘आकर्षण शक्ति’ हो। आज विश्वका राष्ट्रहरू आफ्नो सांस्कृतिक सम्पदाबाट पहिचान निर्माण गरिरहेका छन्। नेपाल बुद्धको जन्मभूमि हो, सगरमाथाको देश हो, त्यस्तै नेपाल जानकीको भूमि पनि हो। यदि हामीले यस गौरवलाई विश्वमाझ सशक्त रूपमा प्रस्तुत गर्न सक्यौँ भने यसले पर्यटन, संस्कृति, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आयाम दिन सक्छ।

तर दुःखद यथार्थ के छ भने, यही जनकपुरधामका धेरै मौलिक धरोहरहरू क्रमशः नष्ट हुँदै गएका छन्। कतिपय प्राचीन मठमन्दिर लोप भएका छन्। कतिपयका जग्गा–जमिन समाप्त भएका छन्। कतिपय सरोवर अतिक्रमणमा परेका छन्। कतिपय मूर्तिहरू हराएका छन्। कतिपय मठमन्दिर हरूमा नियमित पूजा–आरतीसमेत हुन कठिन अवस्था छ।

कुनै समय बावन कुटी आश्रम, बहत्तर धार्मिक तलाउ, फूलबारी, बनबगैंचा र तपोभूमिका रूपमा प्रसिद्ध रहेको यो धाम आज संरक्षणको पर्खाइमा छ। जहाँ सिद्ध महात्माहरू ध्यानस्थ हुन्थे, जहाँ भक्तजनहरू प्रसाद ग्रहण गर्थे, जहाँ धर्म र सेवा जीवनको केन्द्र थियो, त्यही स्थानहरू आज व्यवस्थापनहीनता, बेवास्ता र लोभको सिकार बनेका छन्। मठमन्दिरहरूको सम्पत्ति धर्म, संस्कार, भोगराग, पूजा, भण्डारा, साधुसेवा र जनकल्याणका लागि थियो।

तर कतिपय स्थानमा यस्ता सम्पत्तिको संरक्षण हुन सकेन। यसले जनआस्था कमजोर बनाएको छ। धार्मिक संस्थाहरूको पारदर्शिता, उत्तरदायित्व र पुनर्संरचना आजको आवश्यकता बनेको छ। जनकपुरधामका प्रख्यात मन्दिरहरू— जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, राजदेवी मन्दिर, रत्नसागर क्षेत्र, हनुमानगढी, कुपेश्वरनाथ, दशरथ मन्दिर, कपिलेश्वरनाथ लगायत असंख्य कुटी–आश्रमहरूले अझै पनि धार्मिक परम्परालाई जीवित राखेका छन्।

कतिपय संस्थाहरूले रथयात्रा, कलश यात्रा, भजन, कीर्तन, रामायण पाठ, झाँकी, सांस्कृतिक कार्यक्रम र सामूहिक पूजा गर्दै परम्परा जोगाइरहेका छन्। यिनलाई राज्य र समाज दुवैले साथ दिनुपर्छ। आजको सबैभन्दा ठूलो प्रश्न हो—के हामीले आफ्नै गौरवलाई चिनेका छौँ? यदि चिनेका छौँ भने संरक्षणमा किन ढिलाइ? यदि सम्मान गर्छौँ भने जानकी जयन्तीलाई राष्ट्रिय स्तरमा अझ भव्य किन नबनाउने? यदि जनकपुरधाम हाम्रो धरोहर हो भने यसको योजनाबद्ध विकास किन नगर्ने? जानकी जयन्तीलाई राष्ट्रिय महोत्सवका रूपमा मनाउन सकिन्छ। जनकपुरधामलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्न सकिन्छ। धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिन्छ।

सरोवर पुनर्जीवन अभियान सञ्चालन गर्न सकिन्छ। पुराना मठमन्दिरको अभिलेखीकरण, पुनर्निर्माण र संरक्षण गर्न सकिन्छ। मिथिला कला, भाषा, वेशभूषा, भोजन र संगीतलाई विश्वबजारसम्म पु¥याउन सकिन्छ। यसका लागि सरकार, स्थानीय तह, गुठी संस्था, धार्मिक संस्था, बुद्धिजीवी, युवा, महिला समूह र नागरिक समाज सबै एकजुट हुनुपर्छ।

केवल आलोचना गरेर धरोहर जोगिँदैनÙ सामूहिक अभियान आवश्यक हुन्छ। जानकी माताको जीवनले सिकाउने मूल शिक्षा के हो? शक्ति भएर पनि विनम्र रहनु। दुःखमा पनि धैर्य नछोड्नु। अपमानमा पनि मर्यादा कायम राख्नु। कठिनाइमा पनि सत्य नत्याग्नु। आज हाम्रो समाज, राजनीति र राज्यलाई यिनै मूल्यहरूको आवश्यकता छ। जानकी जयन्तीको अवसरमा राज्यले जनकपुरधामका सम्पदाको संरक्षण, धार्मिक पर्यटन प्रवद्र्धन, सडक–सफाइ, सरोवर पुनर्जीवन, सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय सम्मेलन र योजनाबद्ध विकासको घोषणा गर्न सक्छ।

यसले केवल जनकपुरधामलाई होइन, सम्पूर्ण नेपाललाई लाभ पु¥याउँछ। हामीले बुझ्नुपर्छ—आफ्नो इतिहासलाई सम्मान नगर्ने राष्ट्रको भविष्य कमजोर हुन्छ। आफ्नो संस्कृति बिर्सने समाज दिशाहीन हुन्छ। आफ्ना आदर्श व्यक्तित्वलाई उपेक्षा गर्ने पुस्ता नैतिक संकटमा पर्छ। त्यसैले जानकी जयन्तीको सम्मान केवल धार्मिक आवश्यकता होइन, राष्ट्रिय आवश्यकता हो।

यस वर्षको श्रीजानकी नवमीको शुभ अवसरमा जनकपुरधामका प्रत्येक मठमन्दिर, कुटी, आश्रम र घरघरमा श्रद्धा, शान्ति र उत्साहको दीप प्रज्वलित होस्। धार्मिक संस्थाहरूमा शुद्धता, उत्तरदायित्व र सेवा भाव जागोस्। राज्यमा संवेदनशीलता जागोस्। समाजमा एकता बढोस्। माता श्रीजानकीले सम्पूर्ण नेपाली जनतालाई सद्बुद्धि, शान्ति, समृद्धि र सदाचार प्रदान गरून्।

जनकपुरधामको गौरव पुनर्जीवित होस्। हाम्रो इतिहास सुरक्षित रहोस्। हाम्रो संस्कृति विश्वमाझ उज्यालो बनोस्। अन्त्यमा, श्रीजानकी जयन्तीको पावन अवसरमा सम्पूर्ण श्रद्धालु, पाठकवृन्द र नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। जय सियाराम। जय जनकपुरधाम।

Comment


Related News