२०८३ बैशाख १३, आईतवार ०७:३५

मधेश प्रदेशका प्रहरी प्रमुख -डीआईजी) लगायतको नाम तस्करी प्रकरणमा जोडिएको बेला सर्लाही जिल्लामा उच्च अधिकारीहरुको संलग्नतामा नै तस्करी भइरहेको छ ।

सर्लाही जिल्ला तस्करीको लागि सुरक्षित हब मानिन्छ । सर्लाहीबाट नक्कली नोट, मदिरा, लागूऔषध लगायतको धन्धा सुरक्षित रुपमा भइरहेको छ । अधिकांश सामानहरु भारतबाट नै तस्करी भएर नेपाल आउने गरेपनि केही सामानहरु नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ । नेपालबाट भारत तर्फ गाँजा, मदिरा, चाइनिज लहसुन, मगज (तरबुजाको बीउ) मरिच लगायतका वस्तुहरु तस्करी भएर जान्छ । भारतीय सीमा क्षेत्रमा एक सय रुपैयाँको भन्दा बढी मालसामान निजी प्रयोजनका लागि ल्याइए पनि भन्सार काट्नु पर्ने सरकारले परिपत्र गरे पनि तस्करहरुको हकमा भने लागु भएको छैन । सर्लाहीमा संस्थागत रुपमा तस्करी हुने गरेको छ ।

त्यसमा सुरक्षा अधिकारीहरुको प्रत्यक्ष संलग्नता रहेको बताइन्छ । तस्करीलाई केही राजनीतिक दलका नेताहरुले समेत संरक्षण र मलजल गरेको बताइन्छ । सर्लाही जिल्लामा सुरक्षा अधिकारीहरुले माथिल्लो निकायमा मोटो रकम बुझाएर आउने गरेको आरोप नौलो होइन । नक्कली नेपाली र भारतीय रुपैयाँको समेत सर्वाधिक सुरक्षित ढंगले सर्लाहीको सोनवर्सा नाकाबाट धन्धा भइरहेको स्रोतहरुले जनाएका छन् ।

सर्वसाधारणले हातमा झुण्ड्याएको झोलालाई सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुले उल्टाइ पल्टाइ जाँच गर्छन् । तर तस्करीका ट्रक, पिकअप, मोटरसाइकलहरु निर्वाध रुपमा आउजाउ गरिरहेको देखिन्छ । लेनदेनमा बात नमिलेपछि मात्र सर्लाही सीमामा तस्करीको मालसामान बरामद हुन्छ ।

पछिल्लो पटक सर्लाहीबाट खुलेआम भारततर्फ पठाइएको भारी परिमाणमा अवैध सामान भारतीय सुरक्षा निकायले बरामद गरेको छ । भारतीय सुरक्षाकर्मीहरुले अवैध सामानसहित दुईवटा पिकअप नियन्त्रणमा लिएपछि नेपालतर्फको सुरक्षा व्यवस्था माथि गम्भीर प्रश्न खडा भएको हो । भारतको सीतामढी जिल्लाको नेपालसित जोडिएको सीमा क्षेत्रमा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ले सखुअवा र संग्रामपुर नाका हुँदै लगिएको चिनियाँ लहसुन र खरबुजाको बीउ बोकेको दुईवटा महिन्द्रा बोलेरो पिकअप नियन्त्रणमा लिएको हो । त्यसबाट ‘सेटिङमा चलिरहेको तस्करी’ को यथार्थ सेटिंग सार्वजनिक भएको छ ।

एसएसबीले दुई वटा पिकअपबाट बरामद गरिएको ६७ बोरा -१ हजार २ सय ६ किलोग्राम) चिनियाँ लसुन र ३ हजार ७ सय २४ किलोग्राम खरबुजाको बीउले मात्र होइन, यसले उजागर गरेको सञ्जालले झन् ठूलो प्रश्न खडा गरेको छ । नेपालतर्फबाट यति ठूलो खेप कसरी सजिलै सीमा पार गर्यो ? स्रोतहरूका अनुसार सर्लाहीमा तस्करी लुकिछिपीको काम नभई ‘प्रणालीगत धन्धा’ मा परिणत भइसकेको छ । जहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका केही जिम्मेवार अधिकारीहरूसंग मिलेमतोमा संगठित रूपमा अवैध कारोबार भइरहेको आरोप छ । विशेषगरी कुख्यात तस्कर सन्तोष भण्डारी लगायतका समूहले सुरक्षाकर्मीहरूसँग ‘लाइन मिलाएर’ दिनदहाडै सामान ओसारपसार गर्ने गरेको स्थानीय बासिन्दाको दावी छ ।

अझ गम्भीर कुरा के छ भने, जिल्ला प्रहरी कार्यालयबाट ‘क्राइम टोली’ का नाममा खटिएका प्रहरी हवल्दार धर्मेन्द्र पटेल र प्रहरी जवान अजय सहनी नै तस्करीको सेटिङ मिलाउन सक्रिय रहेको आरोपले स्थिति झन् संवेदनशील बनेको छ । जिल्लाको पूर्वी नाका संग्रामपुर, सखुअवा, नारायणपुर, त्रिभुवननगरदेखि पश्चिमका भाडसर, बहादुरपुर, सिमरा, अर्नाहा, मधुवनी, बलरा, छनकी सम्म तस्करीको ‘रुट’ स्थापित भइसकेको स्रोतको भनाइ छ । तस्करी प्रकरणमा मधेश प्रदेशका डीआइजी लगायत वरिष्ठ सई, सई, असई, हवल्दारलगायतको संलग्नता पुष्टि हुने समाचारहरु बाहिरिन थालेको छ ।

कयौं जिल्लाका सुरक्षा अधिकारीहरू तस्करीमा संलग्न रहेको पोल पनि प्रहरीले नै खोलेका छन् । तस्करी सञ्जाल केवल सीमित समूहको नभइ ‘माथिदेखि तलसम्मको संरक्षित नेटवर्क’ रहेको छ । आइजीपीसम्मको घुमुवाहरु मधेशमा सक्रिय रहने गरेका छन् । हुन त भारतसित सीमा जोडिएको सबै जिल्लाहरुमा घुमुवा परिचालन मार्फत तस्करीको ‘लाइन’ मिलाइने गरिन्छ ।

ठूला तस्करहरुले महिनावारी रुपमा नै सुरक्षा अधिकारीहरुको भाग दिने गरेका छन् । तस्करी भएर भारत तर्फ जाने मालसामानहरु मध्ये एसएसबीले मदिरा फेला पार्ने बाहेक अन्य सामानमा खासै ध्यान दिएको देखिदैन । तस्करहरुले भारतीय सुरक्षाकर्मीहरुलाई समेत मिलाएका छन् ।

Comment


Related News