२०८३ बैशाख १३, आईतवार ०७:४४

संघीय सरकारको निर्देशनले धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबर चोकमा करीब ५३ वर्षदेखि अतिक्रमण गरिएको सार्वजनिक जग्गा अन्ततः प्रहरीको सहयोगमा डोजर लगाएर खाली गराइएको छ ।

मिथिला नगरपालिकाले शनिबार सो क्षेत्रमा निर्माण गरिएका पक्की भवन, घरटहरा तथा पसलहरू भत्काएर हटाएको हो । सडक क्षेत्रमा करिब २५ देखि ३० जनाले लामो समयदेखि बसोवास तथा व्यवसाय सञ्चालन गर्दै बस्दै आएका थिए । सार्वजनिक जग्गा अतिक्रमण मुक्त गर्ने स्थानीय तहहरुलाई गरेको निर्देशन बमोजिम केही दिनअघि नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने भनी सूचना जारी गरेको थियो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका ती संरचना हटाएसँगै सो सडक पुनः खुला गरिने छ । स्थानीयका अनुसार विसं २०२६ सालमा पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा उक्त सडकको उपयोग गरिएको थियो । तर विसं २०३० सालतिर सो स्थानबाट दक्षिणतर्फ नयाँ सडक खुलेपछि पुरानो मार्गबाट आवतजावत बन्द भएको थियो ।

त्यसपछि केही स्थानीयले क्रमशः सो सडक क्षेत्रमा घरटहरा निर्माण गरी बसोवास र व्यवसाय सञ्चालन गर्दै आएका थिए । यसअघि कर्यौ पटक अतिक्रमण हटाउने प्रयास गरेपनि राजनीतिक दबावका कारण सफल हुन सकेको थिएन । नगर प्रमुख महेन्द्र महतोका अनुसार पछिल्लो तीन वर्षको अवधिमा तीन पटक सार्वजनिक सूचना जारी गरिए पनि मुद्दामामिला र राजनीतिक दबाव सहितका विभिन्न अवरोधका कारण कार्यान्वयन हुन सकेको थिएन ।

हाल संघ तथा प्रदेश सरकारबाट सार्वजनिक सडक र जग्गा अतिक्रमण हटाउन कडाइका साथ निर्देशन जारी भएपछि सोही अनुसार नगरपालिकाले कदम अघि बढाएको र सडकको मापदण्ड कायम गरी आवागमनलाई सहज बनाउने नगर प्रमुख महतोले बताए ।

Comment


Related News