जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन प्रसाद सोनार -अजय) सहित एकै परिवारका पाँच जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पक्राउ अनुमति पत्र जारी भएको छ ।
पर्सा जिल्ला अदालतले मिति वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय पर्सा का नाममा पक्राउ पुर्जी जारी गर्दै उनीहरूलाई तत्काल नियन्त्रणमा लिन आदेश दिएको छ । तर आदेश जारी भएको चार दिन बितिसक्दा पनि अभियुक्तहरू पक्राउ नपरेको र सहरमै खुलेआम हिँडिरहेको आरोप लागेको छ ।
अदालतले सभापति सोनारसँगै त्रिलोकी साह सोनार, सन्तोष उर्फ सुमु प्रसाद सोनार, उत्तम उर्फ दिवस सराफ र महेश उर्फ महेश्वर सराफलाई पनि पक्राउ गर्न अनुमति दिएको छ । रामबाबु साह सोनारको जाहेरीमा दर्ता भएको ‘ज्यान मार्ने उद्योग’ मुद्दामा उनीहरूको संलग्नता देखिएको भन्दै अदालतले तत्काल पक्राउ नगरे प्रमाण नष्ट हुन सक्ने तथा अभियुक्त फरार हुन सक्ने जाहेरीकर्ताले बताएका छन् ।
पीडित पक्षका अनुसार अदालतको आदेश कार्यान्वयनमा ढिलाइ हुनु र अभियुक्तहरू अझै पक्राउ नपर्नुले कानुनी शासनमाथि प्रश्न उठाएको छ । यता जिल्ला प्रहरी कार्यालय पर्साले अभियुक्तहरूको खोजतलास जारी रहेको जनाएको छ ।
यसैबीच सभापति सोनारले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम मुछिएको दाबी गरेका छन् । उनले भने ‘म घटनामा संलग्न छैन, राजनीतिक रिसइबीका कारण मेरो नाम जोडिएको हो ।’ सोनारले भने म भागेको छैन जिल्ला समन्वय समिति पर्सा कार्यलयमा नै बसि आफनो काम गर्दै छु प्रहरीले बोलाए जान तैयार छु । प्रहरीको अनुसन्धानमा कतै अवरोध गर्ने छैनौं ।


