वीरगञ्जमा सडक विस्तारका नाममा गरिएको आकस्मिक तोडफोडले एक व्यवसायीको ज्यान गएको छ ।
घण्टाघरस्थित मेनरोडमा डेरा भाडामा बस्दै आएका व्यवसायी मुरारीलाल बजाज सडक विस्तारले घरबारविहीन बनेको सहन नसकेर मानसिक आघातका कारण हृदयघात भई निधन भएको पारिवारिक स्रोतको दाबी गरेको छ ।
सडक विभागको निर्देशनअनुसार २५/२५ मिटर सडक फराकिलो बनाउने अभियान अन्तर्गत मेनरोड क्षेत्रमा संरचना हटाउने क्रममा पर्याप्त समय नदिई हतारमा तोडफोड गर्दा उनले वैकल्पिक बसोबासको व्यवस्था गर्न नसक्दा घटनाले गम्भीर मानसिक तनावमा परेका थिए र सोही कारण गएराति हृदयघात बजाज परिवारको गुनासो छ । स्थानीयवासीले २४ घन्टासमेत समय नदिई गरिएको तोडफोडले मानवीय संवेदनामाथि ठेस पुगेको बताएका छन् ।
वीरगंजको मुख्य व्यापारिक केन्द्र मानिने उक्त क्षेत्रमा करिब १२ सय संरचना हटाइएको र त्यसबाट झन्डै ४८ सय घरपरिवार तथा साना–ठूला व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन् । मृतक बजाज शारीरिक रूपमा अशक्त समेत रहेको र आदर्शनगर स्थित रुगँटा मार्केटमा ‘मुरारी स्टोर्स’ सञ्चालन गर्दै आएका थिए । उनीजस्ता दैनिक आम्दानीमा निर्भर व्यवसायीहरू विस्थापित हुँदा जीवनयापनमा समस्या उत्पन्न भएको स्थानीय व्यापारीहरूको भनाइ छ ।
सडक विस्तार दीर्घकालीन विकासका लागि आवश्यक भए पनि यसको कार्यान्वयन शैली अमानवीय भएको भन्दै कतिपयले आपत्ति जनाएको छ । पूर्वतयारी, पर्याप्त समय तथा वैकल्पिक व्यवस्था विना गरिएको यस्तो कदमले मानवअधिकार उल्लंघनको प्रश्न उठाएको पिडितहरूको दाबी रहेको छ ।
यसैबीच, विस्थापित भएका व्यवसायी धेरै परिवार मानसिक तनाव र डिप्रेसनको शिकार बनेको स्थानीयले बताएका छन् । उक्त घटनाले विकास र मानवीय संवेदनाबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।


