२०८३ बैशाख १४, सोमबार १६:३३

नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन हुनुभएको छ ।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले आङ्देम्बे निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । त्यसअघि पार्टी सभापति गगन कुमार थापाले कार्यसम्पादन समितिको निर्णय अनुसार संसदीय दलको बैठकमा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको नाम प्रस्ताव गर्नुभएको थियो । सभापति थापाको प्रस्तावलाई दलको बैठकले अनुमोदन गरेको थियो ।

संसदीय दलको नेता चयनपछि कांग्रेस सभापति थापाले पार्टीका नेता तथा सांसदहरुले सर्वसम्मतमा नै नेता चयनका लागि सुझाव दिएपछि केहि समय लिएर भएपनि सहमतिमा नै दलको नेता चयन गरिएको बताउनुभयो । उहाले अन्य आकांक्षीहरुको समेत आङ्देम्बेको पक्षमा समर्थन रहेको दावी गर्नुभयो । कांग्रेसको विरासत र परम्परा अनुसार नै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने उहाको विश्वास छ ।

त्यस्तै दलको नेतामा निर्वाचित भएपछि आङ्देम्बेले संख्याले भन्दा पनि बिचारले संसदमा प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो । सरकारको राम्रो कामलाई साथ दिदै सरकारले बाटो बिर्सन खोजे सचेत गराउने उहाको भनाइ छ । उहाले अवको २४ घण्टाभित्र संसदीय दलका सवै पदाधिकारीहरु चयन गरिसक्ने उल्लेख गर्नुभयो ।

यसअघि सोमबार नै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति गगनकुमार थापाको प्रस्तावमा आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको थियो । विसं २०६४ पछि कांग्रेसले पहिलोपटक संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गरेको हो ।

Comment


Related News

Latest News

Trending News