स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो ।
सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् ।
फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएको छ । गाडीहरू आवश्यकताका आधारमा कानुन बमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्ने छन् ।
कानुन अनुसार, सहसचिव र सो भन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्ने व्यवस्था रहेको छ ।
जलाइएका गाडीका नाममा इन्धन दुरुपयोग : कारबाही गर्न निर्देशन
मन्त्री मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् । ‘जेनजी’ आन्दोलनका क्रममा जलाइएका सवारीसाधनका नाममा समेत कर्मचारीले इन्धन लिने गरेको पाइएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।
उनले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई यसबारे छानबिनका निम्ति निर्देशन दिएकी छन् । उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र यसअन्तर्गतका अरू निकायका ६ गरी कुल २४ गाडी जलाइएको थियो ।
पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारीसाधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।


