नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशीष श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको छ ।
नेपाल बीमा प्राधिकरण, कुपण्डोलको सिफारिस र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी) ले बीमा ऐन, २०७९ अन्तर्गतको कसूर गरेको आरोपमा इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठलाई पक्राउ गरेको छ । नेपाल बीमा प्राधिकरणले बैशाख ८ गते नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसूर गरेको भन्दै अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो ।
प्राधिकरणको आकस्मिक निरीक्षणका क्रममा कम्पनी र यसका पदाधिकारीहरूको संलग्नतामा गम्भीर आर्थिक वा प्रशासनिक अनियमितता भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि सुझाव दिइएको थियो । विभिन्न कम्पनीको रकम दुरूपयोग गरेको र सम्पत्ति शुद्धीकरणको आरोपमा सीआईबी नियन्त्रणमा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालबारे भइरहेको अनुसन्धानमा नेपाल माइक्रो इन्स्योरेन्स पनि जोडिएको भन्दै श्रेष्ठलाई पक्राउ गरेको छ ।
व्यवसायी दीपक भट्टको नाममा उधारोमा किनेको सेयरको भुक्तानी हिमालयन रिइन्स्योरेन्ससँगै नेपाल माइक्रो इन्स्योरेन्सबाट पनि भुक्तानी हुनेसक्ने आशंका गरिएको छ । व्यवसायी भट्टलाई उधारोमा सेयर किनिदिने भृकुटी स्टक ब्रोकिङले नेपाल माइक्रो इन्स्योरेन्सलाई १६ करोड १७ लाख रूपैयाँ तिर्न बाँकी छ ।
यस विषयमा बीमा प्राधिकरणको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । सोही क्रममा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न काठमाण्डु जिल्ला अदालतबाट बैशाख १४ गते अनुमति लिएको थियो । जिल्ला अदालतको अनुमति पाएको अर्कोदिनमै प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका श्रेष्ठमाथि बीमा ऐन विपरीतका कार्य गरी सर्वसाधारण वा संस्थालाई हानी नोक्सानी पुरÞ्याएको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


