धनुषा र सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गत प्रमुख मार्ग रहेका कमला नदीमा बनाइएको अस्थायी बाँध भत्किएर आवागमन अवरुद्ध भएको छ ।
कमला पुल नजिक बनाइएको अस्थायी बाँध -डाइभर्सन) वर्षाले पानीको सतह बढेर बाँध भत्किँदा गत दुई दिनदेखि आवागमन ठप्प भएको जनाइएको छ । आइतबार बिहान परेको वर्षासँगै कमला नदी मा पानीको बहाव अचानक बढेको थियो । पानीको सतह बढदै करिब ३०० मिटर लामो अस्थायी बाँधको तीन फिट माथिसम्म पुगेको थियो ।
अत्यधिक दबाब सहन नसक्दा डाइभर्सन बीचैबाट भत्कियो, जसका कारण दुवैतर्फका सयौं सवारी साधन बीच बाटोमै फंसेको थियो । पछि प्रशासनको पहलमा ती सवारी साधनलाई उद्धार गरिएको स्थानीयहरूले बताएका छन् । कमला नगरपालिका–५ का वडाध्यक्ष शिवा पासवानका अनुसार पानी डाइभर्सनभन्दा करिब तीन फिट माथिसम्म पुगेको थियो ।
अहिले पानीको सतह केही घटेर एकदेखि डेढ फिटसम्म झरेको छ । मंगलबारदेखि पैदल यात्रुहरूले जोखिम मोलेर सामान्य रुपमा आवागमन सुरु गरे पनि सवारी साधन भने अझै सञ्चालनमा आउन सकेका छैनन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले डाइभर्सन भत्किएको जानकारी पाएलगत्तै जेसीबीमार्फत माटो हाल्ने काम गरिएको बताए ।
उनले भने ‘पानीको बहाव घटेसँगै बाटो पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।’ यो समस्या नयाँ भने होइन । ढिलासुस्ती र प्राविधिक कमजोरीका काण करिब १४ वर्षदेखि निर्माणाधीन रहेको कमला पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
२०७८ साल असार १४ गते पुल उद्घाटन गरिएको थियो, तर उद्घाटनको तीन दिनमै आएको बाढीले तीन वटा स्पान भाँसिएपछि पुल प्रयोगविहीन बन्यो । त्यसयता करिब पाँच वर्ष बितिसक्दा पनि मर्मत कार्य सम्पन्न हुन सकेको छैन । हुलाकी राजमार्ग आयोजनाले डिजाइनमै कमजोरी रहेको स्वीकार्दै नयाँ डिजाइन अनुसार पुनः निर्माणको काम अघि बढाइरहेको जनाएको छ ।
चालु आर्थिक वर्षभित्र काम सक्ने लक्ष्य राखिएको भए पनि स्थानीयहरू भने अझै विश्वस्त हुन सकेका छैनन् । पुल आभावले एक दशकभन्दा बढी समयदेखि स्थानीय बाँसको चचरीबाट जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । पाँच वर्षअघि पुल बनेपछि सहज आवागमनको आशा जागेको थियो, तर पुल भासिएपछि उनीहरू पुनः पुरानै जोखिमपूर्ण अवस्थामै फर्केर आवागमन बाध्य छन् ।
स्थानीयको निरन्तर गुनासोपछि गएको पुस महिना अघि अस्थायी समाधानका रूपमा डाइभर्सन निर्माण गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ निरीक्षणका क्रममा चचरीको विकल्पस्वरूप डाइभर्सन बनाउन निर्देशन दिएका थिए, उनकै निर्देशनमा अस्थायी बाँध बनाइएको थियो ।
तर वर्षाको सामान्य पानीले पनि अस्थायी समाधान पनि टिक्न सकेन । अहिले बाढी आउन बाँकी नै छ, यसले अनुमान लगाउन सकिन्छ । वि.सं. २०६८ जेठमा लुम्बिनी जेभीसँग करिब १४ करोड ९१ लाख रुपैयाँमा पुल निर्माण सम्झौता गरिएको थियो। २०७१ मंसिरमै सकिनुपर्ने परियोजना सात पटक म्याद थपिँदा लागत बढेर २० करोड ४३ लाख रुपैयाँ नाघिसकेको छ।
तर अझै अन्तिम लागत कति पुग्ने भन्ने टुंगो छैन । हालको अवस्थाले स्थानीय जनजीवन कष्टकर बनेको छ भने विकास निर्माणमा भएको ढिलासुस्ती र कमजोर व्यवस्थापनप्रति प्रश्नहरू उठिरहेको छ ।


