२०८३ बैशाख १६, बुधबार ११:२६

सरकारले संसद छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दै छ ।

प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज मध्याह्न सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन् । बैठकमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेतालाई बोलाइएको छ ।

बैठकमा संसद अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेन्डामा छलफल हुने जनाइएको छ ।

मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको विषय सार्वजनिक भएको थियो । लगत्तै प्रमुख विपक्षी कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले संसद अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँको राजनीति र सार्वभौम संसदको अपमान भएको प्रतिक्रिया दिएका थिए ।

उनले लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद र संविधानको मर्म मिच्न र उपेक्षा गर्न कुनै हालतमा नदिन प्रतिपक्ष प्रतिबद्ध रहेको चेतावनी दिएका थिए । दुईतिहाइनजिकको बहुमत हुँदाहुँदै पनि अध्यादेश ल्याएपछि उनले सरकारलाई सोधेका छन्, ‘आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास ?’

सरकारले दुई अध्यादेश ल्याउने भएपछि एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले विरोध जनाएका छन् ।

सरकारले सोमबारको मन्त्रिपरिषद बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको खुलेको थियो । तर, सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमा त्यो विषय लुकाएका थिए ।

Comment


Related News