२०८३ बैशाख १७, बिहीबार ०९:१७

सानो रकमको ऋणलाई ठूलो ‘जाल’ बनाउँदै ९१ लाख रुपैयाँ असुल्ने प्रयास गरेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका–२ निवासी ३५ वर्षीय विपेन्द्र कुमार साह र जनकपुर उपमहानगरपालिका–२१ का दिनेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार, स्थानीय गढीमाई नगरपालिका–९ का तारकेश्वर सहनीले करिब एक वर्षअघि घरायसी आवश्यकताका लागि साहु बिपेन्द्र साहसँग २ लाख ७० हजार रुपैयाँ ऋण लिएका थिए। सोही ऋणको सुरक्षाका लागि उनले लुम्बिनी विकास बैंकको खाली चेकमा हस्ताक्षर गरेर दिएका थिए।

समयक्रममा सहनीले विभिन्न मितिमा गरी २ लाख ४० हजार रुपैयाँ फिर्ता गरिसकेका थिए। बाँकी रकम किस्ताबन्दीमा तिर्ने सहमति जनाउँदै उनले आफ्नो चेक फिर्ता माग्दा घटनाले अप्रत्याशित मोड लियो।

साहु सर्लाहीको पर्सा गाउँपालिका–२ निवासी ३५ वर्षीय विपेन्द्र कुमार साहले

उल्टै ९१ लाख रुपैयाँ बाँकी रहेको दाबी गर्दै चेक बाउन्स मुद्दामा फसाउने धम्की दिन थालेका थिए। प्रहरीका अनुसार यसले पीडितमाथि मानसिक दबाब सिर्जना गरेको थियो।

पीडितको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदा साहु बिपेन्द्र साह र सहयोगी सोनारबीच मिलेमतो भएको खुलेको छ। उनीहरूले हस्ताक्षर मात्र भएको खाली चेकमा अनाधिकृत रूपमा ९१ लाख रुपैयाँ भरेर चेक बाउन्स गराई त्यसको प्रक्रिया समेत अघि बढाइसकेको पाइएको प्रहरीले जनाएको छ।

दुवै जनालाई बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ र थप अनुसन्धान जारी रहेको प्रवक्ता बस्यालले बताए।

मधेश प्रदेशमा ऋण लेनदेनका क्रममा साँवाको तीन चार गुणा रकम उल्लेख गरी तमसुक वा चेक लिने चलन देखिए पनि यसरी खाली चेक दुरुपयोग गरी ठूलो रकम असुल्ने प्रयास भने कमै देखिने गरेको प्रहरीको भनाइ छ।

Comment


Related News