२०८३ बैशाख १८, शुक्रबार ०७:३१

आफ्नै बाबुको हत्या गरी करिब १८ वर्षदेखि फरार रहेका एक आरोपी अन्ततः पक्राउ परेका छन्। रौतहट प्रहरीले चितवनबाट उनलाई नियन्त्रणमा लिँदै वर्षौंदेखि रहस्यमा रहेको हृदयविदारक पारिवारिक हत्याकाण्ड सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै २०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ ९साबिक जयमनगर–४० मा ६८ वर्षीय विशेष महतो कोईरीको निर्ममतापूर्वक हत्या भएको घटनामा संलग्न उनका कान्छा छोरा राम बिलास महतो रहेको खुलासा गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालका अनुसार आर्थिक संकट, ऋणको चाप र जग्गा विवादबाट छुटकारा पाउने उद्देश्यले उनले योजनाबद्ध रूपमा आफ्नै बाबुको हत्या गरेका थिए। बाबु सुतिरहेको अवस्थामा हातखुट्टा बाँधी धारिलो हतियार प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्या पछि ऋण तिर्नु नपर्ने र निर्दोष व्यक्तिहरूलाई ज्यान मुद्दामा फसाउन सकिने योजनासहित यस्तो जघन्य अपराध गरिएको प्रहरीको दाबी छ।

घटनापछि केही दिनमै परिवारसहित फरार भएका महतोलाई प्रहरीले वैशाख १६ गते चितवनबाट पक्राउ गरेको हो। हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बस्यालले जानकारी दिएका छन्।

यो घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न उठाएको छ भने लामो समयपछि अपराधी पक्राउ पर्नुले न्याय प्रणालीप्रति विश्वास पनि बलियो बनाएको देखिन्छ।

Comment


Related News

Latest News

Trending News