२०८३ बैशाख १९, शनिबार ०७:५३

सिरहाको नवराजपुर गाउँपालिका–१ मा पर्ने भगवतीपुरकी १७ वर्षीया रिंक कुमारी सदायको सामूहिक बलात्कार पछि मृत्युसम्बन्धी घटनामा सिरहा जिल्ला अदालतले जनप्रतिनिधिसहित १४ जनालाई फैसला गरेको छ ।

मुद्दा दर्ता भएको करिब १३ महिनापछि सिरहा जिल्ला अदालतका मुख्यन्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले वडा सदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजायको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राधेश्याम यादवले जनाएका छन् ।

अदालतले बलात्कारमा संलग्न, सहयोगी र घटना लुकाउन पञ्चायती गर्नेहरूलाई पनि फरक– फरक किसिमको सजायको फैसला गरेको छ । घटना लुकाउन पञ्चायती गर्ने नवराजपुर– १ का वडा सदस्य नथुनी साह, रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायसहितकालाई मुलुकी अपराध संहिताबमोजिम जनही आठ महिना कैद र सात हजार रुपैयाँका दरले जरिवानाको फैसला गरेको छ ।

जनप्रतिनिधि ओहदामा रहेर पनि अपराधलाई प्रश्रय दिएको र कानुनी प्रक्रियामा बाधा पु¥याएको ठहर गर्दै वडा सदस्य साहलाई भने थप ६ महिना कैद सजायको फैसला गरेको छ । त्यस्तै सो घटनामा प्रत्यक्ष संलग्न रहेका तीन नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ । न्याय निरूपणका क्रममा अदालतले पीडित परिवारको क्षतिपूर्तिलाई प्राथमिकता दिइ दोषी ठहरिएका प्रतिवादीहरूबाट जनही ३५ हजार रुपैयाँका दरले पीडितको हकवालालाई क्षतिपूर्ति भराउनुका साथै तोकिएको थप क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने फैसला गरेको छ ।

२०८१ साल माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकुलाई स्थानीय तीन जना युवकले नियन्त्रणमा लिइ सामूहिक बलात्कार गरेका थिए । पीडा र चोटका साथ भोलिपल्ट बिहान ३ बजे घर आइपुगेकी रिंकुले आफ्नी आमालाई घटनाबारे जानकारी गराइन् । तर बलात्कार जस्तो जघन्य अपराधलाई प्रहर ीसम्म पुग्न नदिइ गाउँमै गुपचुप राख्ने प्रयास केही अगुवाहरु गरेका थिए ।

घटनाको भएको अर्कोदिन क्रमशः पीडितमाथि थप दबाब सृजना गर्दै वडा सदस्य नथुनी साहको रोहवरमा दुई पटक ‘पञ्चायती’ बसेको थियो । पञ्चायतीले दोषीहरूलाई एक लाख ५१ हजार रुपैयाँ जरिवाना तिराएर घटना थामथुम पार्ने गरेको थियो । तर जरिवानाको रकम बाँडफाँटमा विवाद भएपछि कुरा नमिल्दा घटना बाहिरियो ।

यता अन्यायमा परेकी पीडित रिंकु वितेको माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । बाहिरबाट ढोका बन्द गरिएको अवस्थामा शव भेटिएकाले उनको मृत्युलाई शुरुदेखि नै शंकास्पद मानिएको थियो ।

Comment


Related News

Latest News

Trending News