२०८३ बैशाख १९, शनिबार ०७:५९

ई–कमर्सका नाममा सामाजिक सञ्जालबाटै ठगी धन्दा अधिकांश व्यवसायीले गर्दै आएका छन् । ३० हजार व्यवसायीमध्ये ३१२ मात्रै सूचीकृतमा छन् । यसबाहेकका व्यवसायी सामाजिक सञ्जालको दुरुपयोग गरी विज्ञापनमार्फत सेवाग्राहीलाई आकर्षित गरी भ्रमपूर्ण तरिकाले ठगी धन्दा गर्दै आएको रहस्योद्घाटन भएको छ ।

विद्युतीय प्लेटफर्म प्रयोग गर्दै भ्रमपूर्ण विज्ञापनमार्फत आम उपभोक्तासंग ठगी गर्दै आएका अधिकांश ई–कमर्स व्यवसायी सरकारको नियमन दायरामै छैन । कानुनी दायराभन्दा बाहिर रहेका यस्ता ई–कमर्स व्यवसायीहरू सामाजिक सञ्जालमार्फत आकर्षक विज्ञापनमार्फत विद्युतीय प्लेटफर्मको दुरुपयोग गरी दैनिक रुपमा कम्तीमा एक दर्जन व्यक्तिलाई मूल्य, सामान र भुक्तानीमा ठगी गरिरहे पनि नियमनकारी निकायले उनीहरूलाई नियमनको दायराभित्र ल्याउन बेवास्ता गर्दै आएका छन् ।

नियमनकारी निकायले आलटाल गर्दा पछिल्लो एक वर्षको अवधिमा विद्युतीय व्यापार (ई–कमर्स) पोर्टलमा कुल ३ सय १२ वटा व्यापारिक प्रतिष्ठान मात्रै सूचीकृत भएको जनाइएको छ । नेपालमा विस्तार भइरहेको विद्युतीय व्यापार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सरकारले अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाए अनुसार पछिल्लो करिब १ वर्षको अवधिमा तीन सय १२ वटा व्यापारिक प्रतिष्ठान मात्रै विभागको पोर्टलमा सूचीकृत भएको छ । विभागको विद्युतीय व्यापार नियमन तथा सूचना प्रविधि शाखाका अधिकृत अमितकुमार झाले तोकिएको अवधिमा विभागको पोर्टलमा सूचीकृत हुनका लागि १ हजार ४ सय ४३ वटा व्यापारिक प्रतिष्ठानले आवेदन दिएको जानकारी दिए ।

सूचीकृत हुनेमध्ये अधिकांश फेसनबल, लुगाफाटो, लेडिज कस्मेटिक्स, गरगहना, खाद्य र पेयजन्य पदार्थ, विद्युतीय उपकरणलगायतका छन् । सरकारले ई–कमर्सलाई व्यवस्थित बनाउन खोजे पनि कानुनी अभाव र फितलो कार्यान्वयनका कारण अधिकांश व्यवसायीहरू अझै पनि नियमनको दायरामा आउन मानिरहेका छैनन् ।

विभागमा दैनिकजसो ई–कमर्स व्यापारिक प्रतिष्ठानले ठगी गरेको भन्दै उजुरी र पीडित आफैँ आइरहे पनि ठगी गर्ने प्रतिष्ठान विभागमा सूचीकृत नभएका कारण कारबाही गर्न कठिनाइ भएको छ,’ झाले भने, ‘अधिकांशले उपभोक्तालाई सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतबाट आफ्नो सामानको विज्ञापन गरेर ठगी गरिरहेको पाइएको छ ।’ विभागका प्रवक्ता नरहरि तिवारीले बजारमा सामाजिक सञ्जालमार्फत हुने कारोबार र ई–कमर्स व्यवसायको संख्या ७ हजारभन्दा बढी भए पनि दर्ता प्रक्रियामा आउनेको संख्या भने अत्यन्तै न्यून रहेको बताए ।

घरमै बसेर आफूलाई चाहिएको सामान सहजै रुपमा किन्न पाइने र अनलाइनमार्फत नै पैसा तिर्न सकिने सुविधा भएकाले उपभोक्ताहरू यस सुविधातर्फ आकर्षित भएका छन् । झाले सामाजिक सञ्जालमार्फत आउने विज्ञापन हेरेर उपभोक्ता सजिलै आकर्षित रुपमा लोभ्याइने गरेको बताए । ३ सय जना पीडित उपभोक्ताले लुगा र विभिन्न प्रकारका कस्मेटिक्ससम्बन्धी ई–कमर्स व्यापारिक प्रतिष्ठानले सामाजिक सञ्जालमार्फत जनही ५ सय रुपैयाँका दरमा ठगिएको भन्दै न्यायका लागि विभागमा उजुरी दिएका थिए । तर कुनै प्रभावकारी रुपमा कारबाही नहुँदा आमउपभोक्ताहरु ठोस कानुनी अभावका कारण ठगिदैँ आएका छन् ।

Comment


Related News

Latest News

Trending News