जनकपुरधामस्थित एक निजी अस्पतालमा चिकित्सकको लापरवाहीले शल्यक्रियापछि महिलाको मृत्यु भएपछि उनका आफन्त आन्दोलित बनेका छन् ।
घटनापछि अस्पताल परिसर तनावग्रस्त बनेको छ भने सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो । महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरी निवासी ३६ वर्षीया रागनी देवी पासवानको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो । अस्पतालका अनुसार बैशाख १६ गते साँझ पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि अवस्था सामान्य रहेको बताइए पनि शुक्रबार बिहान करिब ३ बजेतिर उनको मृत्यु भएको जनाइएको छ । तर, मृतकका आफन्तले भने उपचारमा चिकित्सकले लापरबाही भएको आरोप लगाउँदै विरोध जनाएका छन् । आक्रोशित परिवारजनले अस्पतालमा तोडफोडसमेत गरेका छन् । मृतकका ससुरा दयाराम पासवानका अनुसार गाउँकै स्वास्थ्यकर्मीको सल्लाहमा बैशाख ७ गते उनलाई उक्त अस्पतालमा परीक्षणका लागि ल्याइएको थियो । चिकित्सकको सुझावअनुसार बैशाख १६ गते भर्ना गरी शल्यक्रिया गरिएको उनले बताए ।
उनका अनुसार अस्पतालसँग १ लाख २५ हजार रुपैयाँमा ल्याप्रोस्कोपी (प्वाल पारेर गरिने) विधिबाट शल्यक्रिया गर्ने सहमति भएको थियो । तर, चिकित्सकले पेट चिरेर शल्यक्रिया गरेको र त्यसकै कारण मृत्यु भएको आरोप उनले लगाए । ‘प्वाल पारेर अप्रेसन गर्ने कुरा भएपछि हामीले सहमति दिएका थियौं । तर, पेट चिरेर अप्रेसन गरियो, त्यसकारण यस्तो घटना भयो,’ दयारामले भने । उनले दोषी चिकित्सक र अस्पतालमाथि कारबाही तथा क्षतिपूर्ति माग गरेका छन् ।
यता, शल्यक्रियामा संलग्न सर्जन डा. अमरेश कर्णले भने बिरामीको अवस्थाअनुसार परिवारकै सहमतिमा चिरुवा विधि अपनाइएको दाबी गरेका छन् । उनका अनुसार युरेटरमा १३.७ एमएमको पत्थरी देखिएपछि जोखिमलाई ध्यानमा राख्दै शल्यक्रिया गरिएको थियो । ‘शल्यक्रियापछि बिरामीको अवस्था सामान्य थियो र जनरल वार्डमा सार्ने तयारी भइरहेको थियो । तर, राति अचानक प्रेसर घटेपछि उपचारका क्रममा मृत्यु भयो,’ डा. कर्णले भने । उनले उपचारमा कुनै लापरबाही नभएको दाबी गर्दै यस्तो घटना आफ्नो चिकित्सकीय जीवनकै पहिलो भएको उल्लेख गरे । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनका तीन सन्तान रहेका बताइएको छ ।
यसैबीच पीडित परिवारलाई अस्पतालले १ लाख रुपैयाँ क्षतिपूर्ति दिने र ८० हजार रुपैयाँ उपचार खर्च मिनाहा गर्ने सहमति भएपछि परिवारजनले शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी मधुसुदन न्यौपानेको कमान्डमा खटिएको टोलीले अस्पताल र पीडित परिवारबीच वार्ता गराई सहमति जुटाएको हो । सहमतिपछि मृतकका आफन्तले शव उठाएर घर फर्किएका छन् ।

