नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ गतेसम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मका सङ्गठनात्मक र पार्टी तथा जनवर्गीय-मोर्चा सङ्गठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता ज्वालाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।


