कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्त प्रहरीसँगको कथित ‘सेटिङ’ मार्फत हाजिर भएको आरोप लागेपछि रौतहट जिल्ला अदालत परिसर सोमबार तनावग्रस्त बनेको छ। थुनछेक बहस चलिरहँदा बाहिर पीडित परिवार र स्थानीयले धर्ना दिँदै न्यायको माग गरेका छन्।
पीडित पक्षले अभियुक्तलाई उन्मुक्ति दिलाउने प्रयास भइरहेको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्। “दोषी उम्कन नदिन खबरदारी गर्नुपरेको हो,” उनीहरूको भनाइ छ।
२०८१ साल चैत २१ गते परोहा नगरपालिका–२ मा सामान्य विवाद चर्किँदा ६५ वर्षीय शेख मतिनमाथि ६ जनाको समूहले कुटपिट गरेको आरोप छ। गम्भीर घाइते मतिनको विभिन्न स्थानमा उपचार भए पनि सुधार नआएपछि काठमाडौं लैजाँदै गर्दा चैत २३ गते मृत्यु भएको थियो।
मृत्युपछि घटनामा संलग्न ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो। तर, तीमध्ये एक जना शेख रोज महम्मद इलाका प्रहरी कार्यालय गरुडामा ‘सेटिङ’ मिलाएर हाजिर भएको आरोप पीडित पक्षले लगाएको छ।स्थानीय शेख फजले हक, शेख नथुनी, शेख जावेद, मासुम, शेख सकिल र शेख रोज महम्मद मिलेर निर्घात कुटपिट गर्दा गम्भीर घाइते भई मृत्यु भएको आरोप लागेको छ।
मृतकका छोरा सदरे आलमका अनुसार अभियुक्तलाई जोगाउन मुद्दाको मिसिल नै कमजोर बनाउने प्रयास भइरहेको शंका छ। “एक वर्ष बितिसक्दा पनि सबै अभियुक्त पक्राउ परेका छैनन्, उल्टै सेटिङमा हाजिर हुने अवस्था आयो,” उनले भने, “त्यसैले अदालत बाहिर उभिएर न्याय माग्न बाध्य भएका हौं।”
पीडित पक्षले निष्पक्ष फैसला हुने अपेक्षा राख्दै दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन आग्रह गरेका छन्। “हामी अझै न्याय पाउने आशामा छौं,” आलमले भने, “त्यसैले खबरदारी जारी राखेका छौं।”


