मधेस प्रदेश क्रिकेट टिमबाट राष्ट्रिय खेलाडी विवेक यादव खेल्ने भएका छन् ।
सोमबार मधेस प्रदेश क्रिकेट संघको बसेको बैठकबाट सो निर्णय सार्वजनिक गरेको हो । राष्ट्रिय खेलाडी यादव दुई वर्षअघि मधेस क्रिकेट संघमा यसै प्रदेशबाट खेल्न इच्छुक रहेको भन्दै आवेदन दिएका थिए ।
दिएको दुई वर्ष पूरा भएको हुनाले यस प्रदेशबाट खेल्न अनुमति दिने संघले निर्णय गरेको हो । यादव अहिले नेपाल आर्मीको विभागीय टिममा खेलिरहेका छन् । यस्तै, मधेस प्रदेश क्रिकेट टिम आगामी असारमा भारतको बैंग्लोरमा उत्कृष्ट टिमसँग खेल्न जाने भएको छ ।
संघको निर्णयअनुसार आगामी जुन १८, १९ र २० मा बैंग्लोरका उत्कृष्ट टिमसँग खेल्ने छन् । इलाइट कप पनि आगामी सिजनको सुरुआतमै गर्ने तयारी संघले गरिरहेका छन् ।
प्रदेशबाट खेल्ने ‘ए’ लेभलको खेलाडीको म्याच फि तीन हजार, ‘बी’ क्याटोगारीको १५ सय र ‘सी’ क्याटोगोरीको खेलाडीको एक हजार म्याच फि दिइने संघले निर्णय गरेका छन् ।
यस वर्ष संघले केन्द्रीय कन्ट्रयाक्टबाहेक ११ खेलाडीलाई प्रदेशको कन्ट्रयाक्टमा राख्ने र सो चयनको लागि कोषाध्यक्ष सुभाष जयसवालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेका छन् ।


