२०८३ बैशाख २४, बिहीबार ०७:२२

जनमत पार्टीद्वारा आफ्नै नेतालाई पाखा लगाइ मधेश प्रदेश सरकार ढाल्ने योजनामा बे्रक लागेको छ । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

जनमत पार्टीका महासचिवसमेत रहेका प्रदेशसभा सदस्य चन्दन सिंहलाई संसदीय दलको नेतामा चयन गर्दै मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको थियो । प्रदेश प्रमुखको कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै जनमत पार्टीले यही २०८३ वैशाख २२ गतेदेखि लागु हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।

जारी गरिएको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा -२)बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएको पत्रमा उल्लेख गरिएको छ । सिंहले प्रदेश सरकारबाट दिएको समर्थन फिर्ता लिएको भन्दै वैशाख २२ गते मंगलबार जनमत पार्टी संसदीय दलका नेता समेत रहेका अर्थमन्त्री महेशप्रसाद यादवले समर्थन फिर्ता नलिएको भनी अर्को पत्र बुझाएका थिए । तर जनमत पार्टीले सिंहलाई दलको नयाँ नेता चयन गरिएको भन्ने पत्र पठाएपछि सिंहकै पत्रलाई सदर गरिएको छ ।

जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै मधेश प्रदेशको राजनीतिक समीकरणमा परिवर्तन हुने संकेत देखिएको छ । तर केन्द्रीय राजनीतिमा भएको उथलपुथलका कारण तत्कालै मधेश प्रदेशमा सरकार परिवर्तन हुने सम्भावना भने न्यून नै छ । कांग्रेसलाई एकल्याएर एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी मिलेर नयाँ सरकार बनाउने प्रयास थाले पनि अन्तिम समयमा भने सो प्रयास तत्कालका लागि हेर र पर्खको नीतिमा अलमलिएको छ ।

जसपा नेपालले लोसपा नेपालसहितका एकीकृत सांसद जोडेर ठूला दलको हैसियतमा नेतृत्व लिने दाउमा रहे पनि एमालेले पनि आफ् नो दाबीलाई कायमै राखेको थियो । तर कुनै एक दललाई चिढ्याएर प्रदेश सरकार फेरबदल गर्दा जनतामा नकारात्मक सन्देश प्रवाह हुने भन्दै तत्कालका लागि मुख्यमन्त्री कृष्णप्रसाद यादवका प्रदेश सरकार परिवर्तन हुने खतरा टरेको छ । सरकार फेरबदलको खेल शुरु हुनासाथ एमाले, जसपा, जनमतले मुख्यमन्त्री पद पड् काउनका लागिपरेका थिए ।

जसपा नेपाल भित्र लोसपा समूहका जितेन्द्र सोनल र तत्कालीन जसपाका नेता सरोज कुमार यादव मुख्यमन्त्रीका लागि दौडधुपमा लागेका छन् । जनमत पार्टीले आफ्नै पार्टीको सरकारलाई ढाल्ने यो दोस्रो घटना हो । यसअघि जेन– जी आन्दोलनको क्रममा आफ्नै पार्टीका सतीशकुमार सिंह नेतृत्वको सरकार ढालेर कांग्रेसका कृष्ण प्रसाद यादव नेतृत्वमा नयाँ सरकार बनाएको थियो । अब आफू सहभागी सरकारलाई पुनः ढालेर जसपा नेतृत्वको सरकार बनाउने योजना अनुसार अघि बढे पनि असफल भएको छ ।

सत्ता समीकरण फेरबदलमा मधेश प्रदेशका संसदीय राजनीतिक दल लागिपरे पनि अन्तिम समयमा रोकिएको छ । केन्द्रीय राजनीतिकबाट विमुख भइसकेका कांग्रेस, नेकपा र जसपा नेपालका शीर्ष नेताहरुले तत्काल प्रदेश सरकार फेरबदलको खिचातानीमा नलाग्नका लागि निर्देशन दिएका छन् ।

कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकार फेरबदलमा तत्काल नलाग्न निर्देशन दिएपछि केही समयका लागि सरकार परिवर्तनको राजनीति खेलबाट मुख्यमन्त्री यादवको पद जोगिएको छ । मधेश प्रदेश सरकारबाट जसपा, लोसपा र नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक तयारी गरिसकेका थिए ।

मधेश प्रदेश सभामा १०१ सदस्यमध्ये कांग्रेसका २२, एमालेका २४, नेकपाका १५, जसपा नेपालका २६, जनमतका १२, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीका १/१ जना सांसद छन् । लोसपाका अभिराम शर्मा, जसपाका सरोजसिंह कुशवाहा र राप्रपाकी कञ्चन बिच्छा निलम्बित छन् भने जनमतका सतीशकुमार सिंह, नेकपाका भरतप्रसाद साह र रहबर अनसारी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुँदा प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।

मधेश प्रदेश सरकारविरुद्ध असन्तुष्टि कायमै रहे पनि केन्द्रीय नेताको हस्तक्षेपका कारण सत्ता समीकरण परिवर्तन टरेको छ । तर जनमत पार्टीभित्रको द्वन्द्व भने उग्र रुपमा अघि बढेको छ । आफ्नै नेतालाई पाखा लगाएर संसदीय दलको नेता फेरबदल र सरकारलाई दिएको समर्थन फिर्ताले मधेश प्रदेशको राजनीतिमा तरंग उत्पन्न गरिए पनि यसको प्रभाव भने नपरेपछि जनमत भित्रकै आन्तरिक किचलो सतहमा देखिएको छ ।

यसले जनमत पार्टी प्रतिको आकर्षण भन्दा पनि स्वार्थसिद्ध राजनीतिमा केन्द्रित हुँदा जनमतका अध्यक्ष सीके राउतमाथि पनि प्रश्न तेर्सिएको उनी निकटकै नेताहरुले बताउन थालेका छन् । जनमतका एक नेताले भने, ‘यहीँ कारणले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मधेश प्रदेशसहित देशबाट नै तिरस्कृत हुनु पर्दा पनि कमिसनको चक्करमा पार्टीलाई सिध्याउने खेलमा लाग्नु दुःखद हो ।’

Comment


Related News

Latest News

Trending News