रौतहटका नागरिकले अब राहदानी (पासपोर्ट) लिनका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झटबाट राहत पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबारदेखि नयाँ व्यवस्था लागू गर्दै सेवाग्राहीलाई पासपोर्ट कार्यालयमै बुझ्ने वा घरमै प्राप्त गर्ने विकल्प दिएको हो।
रौतहटका सिडियो दिनेश सागर भुसाल का अनुसार राहदानीका लागि आवेदन दिने बेलामै सेवाग्राहीले आफूले पासपोर्ट कहाँ बुझ्ने भन्ने छनोट गर्न सक्नेछन्। घरमै पासपोर्ट मगाउन चाहनेले आवेदन दिँदा ५५ रुपैयाँ बराबरको हुलाक टिकट खरिद गरी आवश्यक कागजातसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादव ले पासपोर्ट जिल्लामा प्राप्त हुनेबित्तिकै हुलाक सेवामार्फत सम्बन्धित व्यक्तिको घरदैलोमै पुर्याइने जानकारी दिएका छन्। प्रमुख यादवका अनुसार यस व्यवस्थाले विशेषगरी टाढाका सेवाग्राहीलाई ठूलो सहजता मिल्नेछ।
यसअघि राहदानी बुझ्न घन्टौं लाइन बस्नुपर्ने, पटक–पटक जिल्ला प्रशासन कार्यालय आउजाउ गर्नुपर्ने तथा अतिरिक्त खर्च व्यहोर्नुपर्ने समस्या रहेको थियो। नयाँ व्यवस्थासँगै समय, श्रम र खर्च बचत हुने अपेक्षा गरिएको छ। साथै, सरकारी हुलाक सेवाको प्रभावकारिता र विश्वसनीयता पनि थप मजबुत हुने विश्वास गरिएको छ। कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष तथा युवा नेता चन्दन कुशवाहाले यस्तो व्यवस्थाले जिल्लाका हजारौँ सेवाग्राहीले राहत पाउने बताउँदै सम्बन्धित अधिकारी प्रती आभार प्रकट गरेका छन्।


