दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ६ सय १६ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ६ सय १६ जना नेपाली नागरिकको उद्धार गरिएको र अन्य ठगीमा परेका नेपालीहरुको उद्दार कार्य जारी रहेको जानकारी दिनुभयो । कम्बोडियाबाट ४ सय ९१, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जनाको उद्धार गरी नेपाल फर्काइएको उहाले बताउनुभयो । उहाले पछिल्लो तीन वर्षमा २१ हजारभन्दा बढी नेपाली कम्बोडिया भ्रमणमा गएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
त्यस्तै प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको र नेपालीहरुको सुरक्षाका लागि सरकार गम्भीर रहेको धारणा राख्नुभयो ।
पश्चिम एसिया क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालमा पर्नसक्ने प्रभावका बारेमा अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन समेत बुझाइसकिएको उहाले बताउनुभयो । उहाले इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको र मन्त्रालय पीडितको परिवार र सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिनुभयो ।
उहाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपाल सरकारको स्पष्ट अडान रहेको भन्दै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकिएको बताउनुभयो ।


