२०८३ बैशाख २६, शनिबार ०८:०९

जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने उद्देश्यले “लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान” सुरु गरेको छ। अभियानको औपचारिक शुभारम्भ बिहीबार सदरमुकाम गौरमा आयोजित विशेष कार्यक्रममार्फत गरिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार अभियानअन्तर्गत जिल्लाभित्र रहेका लागुऔषध सेवनकर्ताको पहिचान, उनीहरूको अवस्था अध्ययन, आवश्यक परामर्श, उपचार तथा पुनर्स्थापनामा विशेष जोड दिइनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी रिजालले लागुऔषध दुव्र्यसन केवल कानुनी कारबाहीको विषय नभई सामाजिक, पारिवारिक तथा स्वास्थ्यसँग जोडिएको गम्भीर समस्या भएको बताएका छन्। उनले यसको समाधानका लागि नियन्त्रणसँगै खोज, उपचार र सुधारलाई समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

एसपी रिजालका अनुसार स्थानीय तह, जनप्रतिनिधि, स्वास्थ्य संस्था, अभिभावक तथा समुदायसँग समन्वय गरेर लागुऔषध सेवनकर्ताको पहिचान गरिनेछ। पहिचान भएका व्यक्तिलाई परामर्श, उपचार तथा लत छुटाउने कार्यक्रममार्फत समाजमा पुनःस्थापित गर्ने योजना रहेको उनले जानकारी दिएका छन्।

उनले लागुऔषध प्रयोगकर्तालाई केवल अपराधीका रूपमा नभई सुधार आवश्यक व्यक्तिका रूपमा हेर्नुपर्ने धारणा राख्दै परिवार, समाज र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

प्रहरीले अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर सेवनकर्ताको खोजी, तथ्यांक संकलन, सचेतनामूलक कार्यक्रम, परामर्श सेवा तथा आवश्यक उपचारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।

पछिल्लो समय जिल्लामा विशेषगरी युवापुस्तामा लागुऔषधको प्रयोग बढ्दो क्रममा रहेको भन्दै प्रहरीले विशेष रणनीतिसहित अभियान सञ्चालन गरिएको जनाएको हो। अभियान सफल बनाउन समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले यो अभियानलाई नियन्त्रणमा मात्र सीमित नराखी सुधार र पुनर्स्थापनामुखी बनाइने स्पष्ट पारेको छ। साथै अभिभावक, शिक्षक, समाजसेवी तथा सर्वसाधारणलाई लागुऔषधविरुद्ध सचेत रहन र शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

Comment


Related News

Latest News

Trending News