२०८३ बैशाख २६, शनिबार ०८:१८

गृहमन्त्री फकिरा महतोले खुला सीमावर्ती क्षेत्रका कारण मधेश प्रदेशको आठ वटै जिल्लामा लागूऔषध ओसारपसार जोखिमपूर्ण बढेको बताएका छन् ।

धनुषाको नगराईन नगरपालिकास्थित जटहीमा शुक्रबार मधेश प्रदेश प्रहरी कार्यालयको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा भएको लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३ कार्यक्रममा गृहमन्त्री महतोले मधेश प्रदेशको आठ वटै जिल्लाको खुला सिमानाका कारण लागूऔषधको प्रयोग गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे ।

उनले मधेश प्रदेशको आठ वटै जिल्ला लागूऔषध सेवनकर्ताबाट प्रभावित रहेकाले यसबाट कुलत फसेका युवाहरुलाई सचेत गराउँदै जोगाउनका लागि मन्त्रालयको तर्फबाट ७० लाख रुपैयाँ विनियोजन गरेको समेत जानकारी दिए । उनले लागूऔषध राष्ट्र र समाजकै दुश्मन रहेकाले यसलाई गम्भीरताका साथ लिइ अभियानकै रुपमा अघि बढाउँदै लागूऔषध ओसारपसार गर्ने, यसको कारोबार गर्ने र सेवन गर्नेहरुमाथि निगरानी गर्नका लागि खोजीसँगैपक्राउ गरी सुधार गर्ने र कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताए । उनले लागूऔषध सेवनकर्ता र ओसारपसार गर्नेहरुलाई खोजीसँगै सुधार्नका लागि प्रहरीालाई निर्देशन समेत दिए ।

त्यस्तै मधेश प्रदेश प्रहरीका डीआइजी गोविन्द थपलियाले औषधिविरुद्धको कामकारबाही प्रहरीले गर्दै आएको बताए । उनले मधेश प्रदेशमा वर्षमा हजारभन्दा बढी आरोपित लागूऔषध, कुलतमा फसेका दुव्र्यवसनीहरु पक्राउ पर्ने गरेको जानकारी दिए । उनले वर्षेनि सयौँ किलोग्राम लागूऔषध गाँजा, चरेशलगायतका सामग्रीहरु बरामद हुने गरेको तथ्यांक रहेको बताउँदै उनले यसको दीर्घकालीन समस्या समाधानका लागि गम्भीर भइ कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

डीआइजी थपलियाले समाजलाई दीर्घकालीन रुपमा सुधार्नका लागि लागूऔषध दुव्र्यवसनीबाट रोक्नका लागि लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महा अभियान आरम्भ गरिएको बताए । उनले स्थानीय तहसमेतले सहयोग गरेमा प्रहरीले मधेश प्रदेशको आठ वटै जिल्लाको सीमानाकामा प्रहरी खटाएर खोजी खोजी लागूऔषध सेवनकर्तालाई पक्राउ गरी सुधार गर्ने महाअभियान संचालन गरिएको बताए । यसैक्रममा तीन जना युवालाई प्रहरीले पक्राउ गरी उनीहरुको पेशाब चेकजाँच गर्दा दुई जना युवाले लागूऔषध सेवन गरेको पाइएको थियो ।

स्वास्थ्यकर्मीले ती तीन जना युवाको पेशाबलाई किटको माध्यमबाट चेकजाँच गरेका थिए । जसमध्ये दुई जनाको पेशाब जाँच गर्दा पोजेटिभ देखिएको थियो भने एकजनाको निगेटिभ रिजल्ट आएको थियो । सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बम, जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डललगायतकाले धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News