जनकपुरधाममा सवारी साधन व्यवस्थापन गर्न करीब तीन वर्ष अगाडि जडान गरिएको ट्राफिक लाइन बिग्रेर थन्किएको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको उद्देश्यले जडान गरिएको ती ट्राफिक लाइन अहिले ‘शो पिस’को रुपमा रहेको छ ।
जडान गरिएको बत्ती एक वर्षसम्म थन्किएको अवस्थामा केही दिन मात्रै सञ्चालन भइ दुई वर्षदेखि बिग्रेर थन्किएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा विनियोजन गरेको बजेटबाट मधेश प्रदेश प्रहरी कार्यालयद्वारा ट्राफिक कार्यालयको समन्वयमा जनकपुरधामका मुख्य चोकहरु मुरली चोक, भैरव चोक प्रदेश प्रहरी कार्यालय अगाडि, जनक चोक, शिव चोक, भानु चोक र रेल्वे स्टेशनमा जडान गरिएको थियो । २०७९ सालमै जडान गरिएको करीब एक वर्षपछि ती लाईट २०८० भदौ महिनादेखि सञ्चालनमा ल्याइयो ।
जनकपुरधामको ६ ठाउँमा लगाइएको ती लाईट मध्ये मुरली चोक र भानु चोकको मात्र मुश्किलले एक महिना सञ्चालनमा ल्याइयो । भैरव चोक प्रदेश प्रहरी कार्यालय अगाडि, शिव चोक, रेलवे स्टेशन र राम चोक सहितका अन्य चार ठाउँको सञ्चालनमै आएनन् । भैरव चौकमा बाटो काट्ने चोक नभएअपनि त्यहाँ ट्राफिक लाइट जडान गरिएको छ । ट्राफिक व्यवस्थापन भनिएको ती लाइन दिनभरिमा बिहान ९ बजेदेखि साढे ११ र बेलुका साढे ४ देखि ७ बजेसम्म मात्र ५ घण्टा सञ्चालन गरिएको थियो । प्रदेश सरकारले ट्राफिक लाइट जडानमा ९८ लाख रुपैयाँ खर्चेर जडान गरिएको लाइट एक महिना पनि सञ्चालनमा नआइ बिग्रेर थन्किदा भ्रष्टाचार भएको भन्ने आलोचना हुँदै आएको छ ।
तत्कालीन ट्राफिक धनुषाका प्रमुख शेखर साहले लाइट जडान भएको सबै ठाउँमा जेब्रा क्रस र स्टपिङ बनाउन करिब २० लाख अझै लाग्न सक्ने र जनशक्तिको अभाव रहेको भनेर अन्य चार ठाउँको लाईट सञ्चालनमा ल्याएका थिएन । बिग्रेर थन्किएका सो ट्राफिक लाइट पुनः सञ्चालन र लाइट जडानमा भएको अनियमितता बारे छानबिन गर्न अहिलेसम्म कुनै पनि निकायले तत्परता देखाएको छैन । झण्डै एक करोड रुपैयाँको लगानीमा जडान गरिएको ती लाइटमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न पटक पटक माग गर्दै आए पनि सम्बन्धित गृह, सञ्चार तथा कानुन मन्त्रालय अहिलेसम्म तत्परता नदेखाउनुले ती निकायको पनि संलगनता हुनसक्ने चर्को आवाज सामाजिक सञ्जालमा उठ्दै आएको छ ।
ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुखले बिग्रेका ती ट्राफिक लाइट मरम्मत सम्भार गराइ पुनः सञ्चालनमा ल्याउने बताएका छन् । यता गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले तीन वर्ष पुरानो कुरा हो र म र मन्त्रालयमा भएका कर्मचारीहरु नयाँ हो, मेरो मन्त्रालयबाट यदि त्यो लाइट जडान भएको हो भने तत्काल त्यसको अवस्थाबारे जानकारी लिइने बताए । उनले भने ‘ती लाइट बारे अहिलेसम्म कसैले गुनासो गरेका थिएन । ९८ लाख रुपैया खर्चेर जडान गरिएको ती लाइट अहिलेसम्म थन्किनु गलत हो । यसबारे बुझेर मरम्मत सम्भार गराएर चाँडै नै सञ्चालनमा ल्याउनेछु । जहाँसम्म जडानमा अनियमितता भ्रष्टाचार भएको छ भने तत्काल त्यसको छानबिन गरी त्यसमा संलग्न मन्त्री, कर्मचारी वा प्रहरी जो सुकैहोस सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउँछौं । उनले थप्दै भने ‘प्रदेशका राजधानी जनकपुरधामको ट्राफिक व्यवस्थापनका लागि सदैव तत्पर छु ।
जनकपुरधाम बिग्रेर थन्किएको ती ट्राफिक लाइट मात्रै होइन ढल्केवर देखि जनकपुरधामको सडक खण्डमा थप ट्राफिक लाइट जडानका लागि आउंदो आर्थिक वर्षको बजेटमा योजना राख्नेछु ।Ú यसैबीच केही दिनअघि बजारको फुटपाथ तथा सार्वजनिक जग्गा व्यवस्थापनको नाममा फुटपाथ तथा सार्वजनिक जग्गा अहिले गाडी पार्किङ्गको थलो बन्दै गएको छ । विशेषगरी जनकपुरधामको मुख्य बजार क्षेत्र गंगा सागर पोखरीको डिलमा लाग्दै आएको बजार खाली गराइयो । तर अहिले त्यो स्थल गाडी पार्किङ्ग बनेको छ ।
ती जग्गा बाहेक धनुष सागर पोखरीको डिलमा लगाइदै आएको फुटपाथ पसल हटाइयो । प्रदेश सरकारले चर्चा पनि राम्रै पायो तर अहिले ती फुटपाथ भारतीय तथा नेपाली नम्बर प्लेटका गाडीको पार्किङ्ग स्थल बनेको छ । अरगजा पोखरीको डिल समेत पार्किङ्ग स्थल बनेको छ । ती जग्गाहरु खाली त गराइयो तर अहिले नियमित सरसफाई नहुँदा फोहोरको डम्पिङ्ग साइट समेत बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको समेत फुटपाथ खाली गराउनेमा समन्वय रहेकोमा त्यहाँ सरसफाइमा तत्परता देखाएको छैन । जग्गा त खाली गराइयो तर ती जग्गा र हटाइएका साना व्यवसायीहरुको अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा प्रदेश सरकार र उपमहानगरपालिकाको कार्यशैलीप्रति प्रश्न उठन थालेको छ ।


