सरकारले ऐलानी, पर्ती र गुठी सहितका सार्वजनिक जग्गा खाली गराइरहेको क्रममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरुको घर ऐलानी पर्ती जग्गामा रहेको पाइएको छ ।
पर्यटनमन्त्री गणेश पौडेलले पोखरामा र सांसद केपी खनालले कैलालीको ऐलानी जग्गामा घर बनाएको विषयले सामाजिक सञ्जाल तातिरहेको बेला सोही पार्टीका अर्का सांसद बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमालले कोल्हबी नगरपालिकाको वडा नम्बर १ स्थित ऐलानी जग्गामा घर बनाएको पाइएको हो । मेयर रामप्रसाद चौधरीका अनुसार पनि धिमालको घर भएको ठाउँ कुनै बेला सार्वजनिक जग्गा थियो । धिमालले घर बनाएको दुईतल्ले घर जग्गा पञ्चायत कालभन्दा अघिसम्म सार्वजनिक जग्गा रहेको थियो । सांसदसँगै सो कोल्हवी बजारमा ४०/५० घर ऐलानी पर्तीमा रहेको छ । ‘तिहास हेर्ने हो भने अहिले बजार बनेको त्यो ठाउँ सार्वजनिक जग्गा नै थियो’, मेयर चौधरीले भने, ‘पञ्चायतकालमा मुखियाहरुको परिवारले कब्जा गरेर निजी बनाए, अहिले त्यसैले निरन्तरता पाइरहेको छ, अब बजार बनिसक्यो, उहाँ (धिमाल)हरुले अब के छाड् नुहुन्थ्यो र ‘ सांसद धिमाल त्यो घर आफै भत्काउंछन वा डोजर लगाइन्छ भन्ने प्रश्न सामाजिक सञ्जालमा जोडतोडका साथ उठिरहेको छ ।
अरुको घर भत्काउने सरकारका आफ्नै सांसदको घर किन भत्काउंदैनन भन्ने आवाज उठिरहेको छ । यसैबीच सांसद धिमालले पनि आफ्नो सार्वजनिक ऐलानी जग्गामा रहेको स्वीकार गरेका छ्न । उनले भने मेरो घर आज होइन करीब ४० वर्ष अगाडि नै बनेको हो । त्यो बेला कोल्हवी बजारका जग्गा ऐलानी नै थियो । बजार ऐलानी जग्गामै लाग्दै आएको थियो । उनले थप्दै भने कानून भन्दा माथि कोही छैन । सरकारले यदि यस क्षेत्रको सबैको घर भत्काउंछन भने मेरो घर पनि भत्काईन्छ । यसमा मेरो कुनै अवरोध हुँदैन । बरु सरकारलाई सहज हुने वातावरण निर्माण गर्न म तयार छु ।
हुनत दुई दिनअघि सर्वोच्च अदालतले वैकल्पिक व्यवस्था नगरीकन कसैको घर नभत्काउनु भन्ने सरकारलाई आदेश दिइसकेको छ । सो आदेशपछि बालेन्द्र साह नेतृत्वको सरकारले घर टहरा भत्काउने काम अहिले रोकेको बुझिएको छ । तर पालिकाहरु अझै अदालतको आदेशलाई बेवास्ता गर्दै घर तोड्नमा तल्लिन छन् ।


