राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अनावश्यक विषयहरूलाई धेरै उचालेर आम नागरिकमा आशंका पैदा नगर्न आग्रह गर्नुभएको छ ।
पार्टीले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रमको आइतबार ललितपुरमा समापन गर्दै सभापति लामिछानले सरकार बनाएको डेढ महिनामा थिति बसाल्ने अभियानमा आफुहरु रहेको भन्दै अनावश्यक विषयहरूलाई धेरै उचालेर आम नागरिकमा आशंका पैदा नगर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको हो ।
उहाले रास्वपाले पाएको जनमत यसअघिको निरन्तरताका लागि नभइ क्रमभङ्गताका लागि भएको सरकार फरक ढंगले अघि बढ्न खोजेको उल्लेख गर्नुभयो । सभापति लामिछानेले आमनागरिक, समाज र देशले हामीलाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिनुभयो । त्यस्तै उहाले चुनावमा गरेका वाचाअनुसार नै सुकुमवासी र भूमिहीनलाई अधिकार दिने भन्दै यसका लागि सरकारले गरेको कामलाई अतिरञ्जीत गर्न आवश्यक नरहेका धारणा राख्नुभयो ।
सभापति लामिछानेले संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको बताउनुभयो । सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने स्पष्ट पार्नुभयो ।
त्यस्तै उहाले पार्टी जनताको माया र देशको भविष्यप्रति चिन्तित रहेकाले देशलाई अप्ठेरो हुने कुनै पनि काम नगर्ने धारणा राख्नुभयो । सभापति लामिछानले भाइरल हुनुभन्दा संसदमार्फत मुलुकलाई आवश्यक कानून निर्माणमा ध्यान दिन सांसदहरुलाई निर्देशन समेत दिनुभयो ।


