संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरु हुने भएको छ । सोमबार नै सरकारको नीति कार्यक्रमसमेत प्रस्तुत गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुबै सदनको संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए ।
नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले सोमबार दिउँसो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । त्यस अघि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक समेत हुनेछ ।
संसद् सचिवालयले जनाए अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराइने सम्भावित कार्यसूची छ ।


