२०८३ बैशाख २८, सोमबार ०८:२५

वीरगन्जबाट चोरी गरिएको मोटरसाइकल चलाएर रौतहटको मौलापुरमा पैदलयात्रीलाई ठक्कर दिई फरार भएका युवकलाई रौतहट प्रहरीले ७२ घण्टाभित्रै पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–३ निवासी २३ वर्षीय जाविर अन्सारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार विशेष अनुसन्धान र प्रविधिको प्रयोगबाट फरार अभियुक्तलाई नियन्त्रणमा लिन सफलता मिलेको हो।

गत २२ गते बिहान करिब ११ः४० बजे मौलापुर बजारको आईटी चौक क्षेत्रमा हरनहियाबाट मौलापुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२७ प ७५७५ नम्बरको मोटरसाइकलले स्थानीय २० वर्षीया सुनिता कुमारीलाई ठक्कर दिएको थियो। दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन्।

घटनापछि चालक मोटरसाइकल घटनास्थलमै छोडेर फरार भएका थिए। प्रहरीले मोटरसाइकलको विवरण खोजतलास गर्दा उक्त सवारी वीरगन्ज महानगरपालिका–नगवा निवासी ३१ वर्षीय रमेश कुमार पटेलको रहेको खुलेको थियो।

अनुसन्धानका क्रममा सो मोटरसाइकल सोही दिन बिहान करिब ५ बजे नगवा चौकबाट चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी नगवामा निवेदन परेको समेत फेला परेको प्रहरीले जनाएको छ।

त्यसपछि रौतहट प्रहरीले सम्भावित भाग्ने नाका, बाटो र स्थानहरूको निगरानी बढाउँदै प्रविधि तथा हुलियाको विश्लेषणका आधारमा खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा घटनाको तीन दिनपछि अर्थात् २५ गते बंकुल नहर चौकबाट जाविर अन्सारीलाई पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

हाल अभियुक्त जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको र उनीविरुद्ध सवारी ज्यान तथा चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी बस्यालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

Comment


Related News

Latest News

Trending News