२०८३ बैशाख २८, सोमबार १६:५४

लोकतान्त्रिक समाजवादी पार्टी (लोकतान्त्रिक समाजवादी पार्टी)का अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले वर्तमान संवैधानिक व्यवस्था र संघीयताको ढाँचाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मुलुकमा ऐतिहासिक रूपमा कायम जातीय, धार्मिक र क्षेत्रीय विभेद अझै अन्त्य हुन नसकेको बताए । उनका अनुसार संघीयताको परिकल्पना पहिचान र जनसंख्याका आधारमा विभेद अन्त्य गर्न गरिएको भए पनि हालको सात प्रदेशीय संरचनाले आन्दोलनका मूल एजेन्डा पूर्ण रूपमा सम्बोधन गर्न नसकेको हो ।

ठाकुरले सरकारले संसदलाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै आपत्ति जनाए । संविधानका कतिपय प्रावधानप्रति असन्तुष्टि कायम रहेको अवस्थामा अध्यादेशमार्फत गरिने निर्णयहरू स्वीकार्य नहुने उनको भनाइ थियो ।

उनले भने, “विगतमा १० वा ११ प्रदेशको अवधारणा र दुई मधेस प्रदेशको मागलाई उपेक्षा गरेर अहिलेको सात प्रदेशीय ढाँचा ल्याइयो, जसमा हाम्रो पूर्ण सहमति छैन ।”bशारीरिक रूपमा अस्वस्थ भए पनि जनताको अधिकारका लागि आफ्नो संघर्ष निरन्तर रहने उनले प्रतिबद्धता जनाए ।

उनले मर्यादापालकको सहयोगमा संसदमा उपस्थित भएको उल्लेख गर्दै जुनसुकै अवस्था भए पनि आफू जनअधिकारको पक्षमा उभिरहने बताए । ठाकुरले मधेसमूलको नेतृत्व सरकारमा हुँदा पनि मधेसमाथि पुनः दमन र विभेद नहुने अपेक्षा व्यक्त गर्दै राजनीतिक दलका कार्यालयहरूमाथि सम्भावित सरकारी हस्तक्षेपप्रति चिन्ता समेत व्यक्त गरे । उनले संसद र सरकार उत्पीडित समुदायका न्यायका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

Comment


Related News

Latest News

Trending News