राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा नीति तथा कार्यक्रमभन्दा बढी चर्चा प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ को भएको छ ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरिरहँदा प्रधानमन्त्री साह बीचमै संसद बैठक कक्षबाट बाहिरिएका थिए । झण्डै १ घन्टासम्म प्रधानमन्त्री साह आफ्नो कुर्सीमा थिएनन् । नीति तथा कार्यक्रम सरकारले ल्याउने कार्यक्रम मात्र नभएर उसको योजनाको रूपरेखा पनि रहेको छ । यसको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको तर्फबाट नै पेश गर्ने छन् ।
आफ्नै सरकारले ल्याएको र राष्ट्रपतिलाई उपलब्ध गराएको नीति तथा कार्यक्रम पेश भइरहँदा पूरा समय पनि संसद बैठकमा बस्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो । नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेश भएको थियो । त्यसपछिको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद गुरु बरालले प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रम बहिष्कार गरेको ठहर गरेको बताए ।
सांसद गुरुराज बरालले राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहेको बेला उठेर बाहिर जानु बहिष्कार गर्नु ेसरह भएको दाबी गरेका थिए । उनले आफैँले नीति कार्यक्रम पढ्न दिएर बहिष्कार गरिनु संसदीय मर्यादाविपरीत भएको समेत जिकिर गरेका छन् । संसदीय अभ्यासमा अशोभनीय कार्य रेकर्डमा रहनु उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीले उठेर हिँडेपछिको दृश्य संसदको रेकर्डबाट हटाउनसमेत माग गरे ।
नेपाली कम्युनिस्ट पार्टी -नेकपा) का प्रमुख सचेतक युवराज दुलालले नीति तथा कार्यक्रम पेश भएपछि संसद भवन परिसरमा उनले आफैँले हस्ताक्षर गरेको कार्यक्रम वाचन भइरहँदा प्रधानमन्त्री निस्कनु लज्जाको विषय भएको बताए । उनले नीति तथा कार्यक्रमले आशा ल्याउन नसकेको बताए ।


