२०८३ बैशाख २९, मंगलवार ०७:३४

धनुषाको जनकनन्दिनी गाउँपालिका–३ मा पर्ने महुवामा जुवातास खेल्दै गरेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरी टोलीले आइतबार राति बिन्दे मण्डलको घर पछाडिको बारीमा छापा मारेको थियो । धनुषा प्रहरीले जनाए अनुसार सो स्थानबाट नेपाली रुपैयाँ ८१ हजार ५ सय ५५ र भारतीय रुपैयाँ ७ हजार ७ सय ९० बरामद गरिएको छ । बरामद भारतीय रुपैयाँको नेपाली रुपैयाँमा रूपान्तरण गर्दा जम्मा ९४ हजार १९ रुपैयाँ बराबर हुन आउने धनुषा प्रहरीले जनाएको छ । यसका साथै घटनास्थलबाट तासका तीन बुक पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमा जनकनन्दिनी गाउँपालिका–३ का ३९ वर्षीय अजिम राइन, ४९ वर्षीय बिक्नु मण्डल, भारत बिहार राज्य मधुवनी जिल्ला देवधा वडा नं. ९ का ३५ वर्षीय दिनानाथ साह, वडा नं. ५ का ४२ वर्षीय राजु महतो, वडा नं. ९ का ३१ वर्षीय श्रवण साह, वडा नं. ७ का ३५ वर्षीय मोहम्मद आखरुज जमाल तथा वडा नं. १ का ३९ वर्षीय मधु नट रहेका छन् । धनुषा प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Comment


Related News