नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संख्याको दम्भमा विधि मिच्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले संसदलाई छलेर अध्यादेश ल्याउने, प्रतिशोधको गन्ध आउने गरी धरपकड गर्ने, सरकारको आलोचना गर्नेहरुलाई थुन्ने जस्ता काम भएको भन्दै संख्याको दम्भमा विधि मिच्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । संख्या कहिले पनि स्थायी नहुने भन्दै प्रचण्डले जनताको समर्थन पनि शसर्त हुने धारणा राख्नुभयो । उहाले ६४ सालमा माओवादी बहुमत ल्याएपछि जोगाउन नसकेको स्मरण गर्दै निषेध अपमान र प्रतिशोध नभइ विश्वास र सहकार्यलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिनुभयो ।
प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको समेत बताउनुभयो । गठन भएपछि सरकारले सार्वजनिक गरे अनुसार नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न नसकेको उहाको भनाइ छ । उहाले संविधान संशोधन एकदमै संवेदनशील विषय भएकाले यसलाई हल्का रुपमा नलिन आग्रह गर्नुभयो । प्रचण्डले भूराजनीतिक अवस्थितिका कारण विभिन्न शक्तिकेन्द्रहरुका दबाब र हस्तक्षेप बढदो अवस्थामा रहेको भन्दै उहाले देशभक्त नेपालीहरु आफ्नो राष्ट्रिय हित, आत्मसम्मान र संशाधनको रक्षा गर्न एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रचण्डले संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै अघि जान सकिने भएकाले प्रधानमन्त्रीले केही निश्चित मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहन नसक्ने तर्क गर्नुभयो ।
त्यस्तै उहाले वर्तमान नयाँ संसद समावेशी सहीदहरूको बलिदानको उपज भएको पनि बताउनुभयो । बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै फरक पार्टीबाट प्रधानमन्त्री बनेपनि यो हिजोको क्रान्तिकै प्रतिफल भएको उहाले बताउनुभयो ।


