नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी फूटको संघारमा पुगेको संकेत दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति सदस्य मनोनयनप्रति आफूहरु असहमति रहेको बताउँदै उनले विशेष महाधिवेशनप्रति असन्तुष्टि जनाउँदै नेता निधिले देशभरका करिब ४६ प्रतिशत महाधिवेशन प्रतिनिधि प्रक्रियाबाट बाहिर रहेको दाबी गरे ।
जनकपुरधाममा मंगलबार केही सञ्चारकर्मीसंग कुरा गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले विशेष महाधिवेशनमा करिब ५६ प्रतिशत प्रतिनिधिमात्र सहभागी भएको दाबी गरे । आफूहरुसंग कुनै किसिमको छलफल नै नगरी पार्टी सभापति गगन कुमार थापाले १९ जना केन्द्रीय समिति सदस्यमा मनोनित गरेको प्रति असहमति जनाएका छन् । उनले पार्टीभित्र सहमति निर्माणका लागि हालसम्म प्रभावकारी प्रयास नभएको आरोप लगाए । आफूहरुसंग सरसल्लाह नै नगरी मनोमानी ढंगले गरिने महाधिवेशनप्रति असहमति जनाउँदै आफूहरु पनि महाधिवेशनको तयारीमा रहेको नेता निधिले बताए । उनले छुट्टै कार्यालय खोजी कार्य भइरहेको बताए । उनले १५औँ महाधिवेशनको तयारीमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे ।
नेता निधिले विशेष महाधिवेशनलाई आफूहरूले मान्यता नदिने स्पष्ट पार्दै पार्टीभित्र साझा एकताको वातावरण निर्माण गर्न १४औँ महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर दुबै कार्यसमितिलाई संयुक्त रूपमा अघि बढाउनुपर्ने माग गरेका छन् । उनले नेताहरू पूर्ण बहादुर खड्का, शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माबीच शिष्टाचार भेट भए पनि ठोस प्रस्ताव नआएको दाबी गरे । नेता निधिले संयुक्त कार्यसमितिमार्फत १५औँ महाधिवेशनको तयारी, कार्यतालिका निर्माण तथा आवश्यक निर्णयहरू गर्नुपर्ने बताए । नेता निधिले भने, ‘हामी धेरै दिन पर्खिन सक्ने अवस्थामा छैनौँ ।’ पार्टी सदस्यता नवीकरणबारे बोल्दै निधिले १५औँ महाधिवेशनका लागि आवश्यक सदस्यता नवीकरण प्रक्रिया यसअघि नै सम्पन्न भइसकेकाले पुनः नवीकरण आवश्यक नरहेको बताए ।
उनले त्यसबेला नवीकरण व्यवस्थापनको जिम्मेवारी महामन्त्री गगन थापालाई दिइएको स्मरण गराए । यद्यपि उनले सबै कार्यकर्तालाई सदस्यता नवीकरण प्रक्रियामा सहभागी नहुन आग्रह गर्दै निजी स्वार्थका आधारमा सदस्यता नवीकरण भइरहेको आरोपसमेत लगाए । नेता निधिले पार्टीभित्र छलफल र समन्वय बढाउन सातै प्रदेशमा नेताहरूसँग भेटघाट तथा परामर्श अभियान थालेको बताए । उनले मधेश प्रदेशको जिम्मेवारी आनन्द ढुंगानालाई दिइएको छ भने कोशी र बागमती प्रदेशमा समेत भेला तथा छलफल कार्यक्रम सञ्चालन भइरहेको दाबी गरे । नेपाली कांग्रेसको कार्यशैलीप्रति आफ् नो असन्तुष्टि जनाउँदै छुट्टै पार्टी कार्यालय सञ्चालन गर्ने अभिव्यक्ति दिएपछि पार्टीका स्थानीय नेताहरुले पार्टी फूटतर्फ उन्मुख भएको अथ्र्याउन थालेका छन् ।
नेता निधिले पार्टी कार्यालयका लागि छुट्टै भवन खोज्ने कामसमेत भइरहेको सार्वजनिक अभिव्यक्ति दिएलगत्तै पार्टी कार्यकर्ताहरुले पार्टी फूटको संघारमा पुगेको बताउन थालेका छन् । आफूहरु र विशेष महाधिवेशन पक्षधरबीच मेलमिलाप हुँदैछ भन्ने कुरा भ्रममात्रै रहेको उनले प्रस्ट्याए । केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन भएकाहरु आफ्नै व्यक्तिगत निर्णयबाट अर्को पक्षमा गएको हुनसक्ने उनको भनाइ छ । यसअघि सोमबार सभापति थापाले महेन्द्र यादव, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, जीवन परियार लगायत १९ जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए ।


